Headline

पुनरागमनमा बिमलले गोल गरेपछि नेपाल बिजयी

Published

on

स्ट्राइकर बिमल घर्ती मगरले दुई बर्षपछि राष्ट्रिय टोलीको लागि पुनरागमन खेलमा गोल गरेपछि नेपालले एक दशक भन्दा बढी समयदेखिको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल जितको खडेरी तोडेको छ ।

बिमलको एक मात्र निर्णायक गोलमा नेपालले दशरथ रँगशालामा शनिबार आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा मौरिससलाई १–० ले पराजित गर्यो । २०११ मा भुटाानलाई मैत्रीपूर्ण खेलमा हराए यता नेपालले जित हात पार्न सकेको थिएन ।

पहिलो हाफ नीरस बन्दा नेपालले दोश्रो हाफमा पूर्ण नियन्त्रण राख्दै जित हात पार्न सफल भएको हो । यस क्रममा बिमलले राष्ट्रिय टोलीका लागि आफ्नो नवौं अन्तर्राष्ट्रिय गोल गरे ।

नेपालले पहिलो पटक प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई दशरथ रँगशालामा जित दिलाएको हो ।

पहिलो हाफको अन्त्यतिर पाएको सुनौलो अवसरमा अञ्जन बिष्ट चुके । नेपालको हाफबाट आएको लामो पासलाई मौरिससको डिफेन्सले क्लियर गर्न नसक्दा गोलकिपर केभिन जन–लुइलाई बिट गर्न अञ्जन असफल रहेका थिए ।

दोश्रो हाफको शुरुवातमै फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्किएपछि मौरिसस चुक्न पुगेको थियो । ९ मिनेटपछि नै नेपालले खेलमा अग्रता लियो ।

अञ्जनले मौरिसस डिफेन्स चनाखो नरहदा दिएको बलमा बिमलले जन–लुई अघि बढेको अवस्थामा पेनाल्टी बक्सको लाइनबाटै गोल गरेका थिए । ७५ औं मिनेटमा जगजित श्रेष्ठको फ्रि–किकमा अञ्जनको फ्लिक हेडर क्रसबारमा लागेर फर्किएको थियो ।

लगत्तै नेपालले दुई पटक गोल गर्ने मौका गुमायो । अञ्जनले बक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किएको थियो भने रिबाउण्डमा जगजितको हेडरलाई मौरिसस गोलकिपर जन–लुईले बचाइदिएका थिए ।

खेलमार्फत नेपालका लागि सुदिप गुरुङ र आकाश बुढा मगरले डेब्यु गरेका थिए ।

Click to comment

Trending