Headline

म्याराथन अष्ट्रेलियन ओपन फाइनल जित्दै नाडाल बने सबैभन्दा धेरै ग्राण्ड स्ल्याम जित्ने खेलाडी

Published

on

रुसी युवा ड्यानिल मेदभेदेभमाथि उत्कृष्ट पुनरागमन जित हात पार्दै स्पेनिस लेजेण्ड राफेल नाडालले किर्तिमानी २१ औं जित हात पारेका छन् ।

मेलबर्नको रड लेभर अरिनामा पाँच घण्टा भन्दा बढी चलेको म्यारथन फाइनलमा नाडाल पहिलो दुई सेटमा २–६, ६–७ (५–७) ले पछि परे । तर दोश्रो र तेश्रो सेट ६–४, ६–४ ले जित्दै नाडालले खेलमा सनसनीपूर्ण पुनरागमन गरे ।

अन्तिम सेटमा ७–५ को जित हात पार्दै नाडालले पुरुष टेनिसमा नयाँ इतिहास कायम गरे । स्विस लेजेण्ड रोजर फेडेरर र सर्बियन सुपरस्टार नोभाक जोकोभिचसँगै समान २० ग्रान्ड स्ल्याममा रहेका नाडालले टेनिसको सबैभन्दा ठूलो उपाधिमा २१ औं पटक कब्जा जमाए ।

नाडालले युएस ओपन बिजेता मेदभेदेभको लगातार दोश्रो प्रमुख उपाधि जित्ने सपनालाई पनि चकनाचुर पारे ।

धेरैले यस खेललाई २००८ मा नाडाल र फेडेररबीच भएको म्याराथन विम्बल्डन फाइनलसँग तुलना समेत गरेका छन् । चार घण्टा ४८ मिनेटसम्म चलेको २००८ विम्बल्डन फाइनलमा नाडालले पहिलो दुई सेट जित्दै २–० को अग्रता लिएका थिए । फेडेररले त्यसपछिका दुई सेट जितेका थिए ।

तर अन्तिम सेट ९–७ ले जित्दै नाडालले बिश्व टेनिसमा स्थापित हुँदै गरेको परस्पर प्रतिद्वन्दीतालाई थप आगो दिएका थिए ।

२००५ मा पहिलो पटक फ्रेञ्च ओपन जितेका नाडालको यो दोश्रो अष्ट्रेलियन ओपन उपाधि हो । अष्ट्रेलियन ओपनका बादशाह जोकोभिच यो पटक कोरोनाको भ्याक्सिन नलगाएको कारण अष्ट्रेलियामा आगमन पछि डिपोर्ट हुँदै घर फर्कनु पर्दा नाडालको लागि सुनौलो मौका रहेको थियो ।

यो मौकालाई नाडालले खेर फालेनन् । क्ले कोर्टका बादशाह नाडालले फ्रेञ्च ओपन किर्तिमानी १३ पटक जितेका छन् भने युएस ओपन चार पटक जितेका छन् । विम्बल्डनमा उनी दुई पटक च्याम्पियन रहेका छन् ।

Click to comment

Trending