Headline

एपिएफलाई पहिलो पटक आहा–रारा गोल्डकपको उपाधि

Published

on

नेपाल एपिएफ क्लबले पहिलो पटक आहा–रारा गोल्डकपको उपाधि जितेको छ । १४ बर्षमा पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको एपिएफले मनाङ मस्र्याङ्गदी क्लबलाई टाई ब्रेकरमा ५–४ ले पराजित गर्यो ।

पोखरा रँगशालामा भएको सनसनीपूर्ण फाइनलमा निर्धारित ९० र त्यसपछिको ३० मिनेटको एक्स्ट्रा टाइममा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाई–ब्रेकरमा भएको थियो ।

टाई–ब्रेकरमा एपिएफका जापानी गोलकिपर युया याकुरीयामाले सही निर्णय लिदै डाइभ हानेपछि उच्च लयमा रहेका अनुभवी अफ्रिकी स्ट्राइकर ओलावाले ओलादिपो अफिजले प्रहार गरेको अन्तिम पेनाल्टी बचाएका थिए । एपिएफका अर्माण्ड बिडौमले गोल गर्दै मनाङलाई सातौं उपाधिबाट रोकेका थिए ।

युवराज खड्काको गोलमार्फत अग्रता लिदैं घरेलु दर्शकलाई स्तब्ध बनाएको एपिएफले दोश्रो हाफमा दुई गोल खादै पछि परेको थियो । तर अन्तिम समयमा रवि थिँगले गोल गरेपछि मनाङ्ग जितबाट बञ्चित भएको थियो ।

२० औं मिनेटमा अर्माण्डको पासमा युवारजले तीन मनाङ डिफेन्डरको दवाबका बीच प्रहार गर्दै फार पोस्टमा लो ड्राइभ मार्फत गोल गरेका थिए । ६६ औं मिनेटमा दयानन्द सिँहले कप्तान बिमल रानाको क्रसले अगाडी बढेका गोलकिपर युया याकुरियामालाई बिट गरेपछि दयानन्द सिँहले खाली पोस्टमै हेडरमार्फत गोल गर्दै मनाङको लागि बराबरी गोल गरेका थिए ।

७२ औं मिनेटमा अर्माण्डले बललाई नियन्त्रणमा लिन सकेपनि उनको प्रहार बाहिरिन पुग्दा एपिएफले अग्रता फर्काउने सुनौलो अवसर गुमाएको थियो । ८४ औं मिनेटमा फ्रि–किकमा आएको बलमा फ्रांकलिन टालाले हेडर प्रहार गर्न खोज्दा उनको कुममा लाग्दै गोल हुन पुगेको थियो । लगत्तै मनाङका किपर अशोक बरालले टिमलाई गोल खानबाट बचाएका थिए ।

मणी लामाको फ्रि–किकलाई अशोकले उत्कृष्ट ढँगले पञ्च आउट गर्दै बचाएका थिए । कर्नर बलमा डिफेन्सबाट बल क्लियर भएपछि मनाङको संकट टरेको थियो । तर इन्जुरी समयमा रविले गोल गर्दै मनाङलाई जितबाट टाढा राखेका थिए ।

आफ्नो डिफेन्सबाट आएको बलमा मनाङबाट क्लियर हुन नसकेपछि प्राप्त एयर बलमा हेडरमार्फत गोल गर्दै खेललाई एक्स्ट्रा टाइममा धकेल्न सफल भएका थिए ।

एक्स्ट्रा टाइमको पहिलो १५ मिनेटमा मनाङले पकड राखेपनि दोश्रो १५ मिनेट भने एपिएफ पूर्ण रुपमा हावी भएको थियो । अन्तिम मिनेटमा सनिस श्रेष्ठको क्रसमा अर्माण्डले गोललाइन नजिकबाटै गोल गर्ने अवसर गुमाएका थिए ।

Click to comment

Trending