Headline

मैत्रीपूर्णमा जितको खडेरी तोड्न मौरिसससँग भिड्दै नेपाल

Published

on

अक्टोबर १६ मा भारतसँग साफ च्याम्पियनसिप फाइनलमा पराजित भए यता नेपालले पहिलो पटक शनिबार दशरथ रँगशालामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्न गइरहेको छ । मैत्रीपूर्ण खेलहरुमा पछिल्लो ११ बर्षदेखि जित बिहिन रहदै आएको नेपाललाई मौरिससबिरुद्ध यो खडेरी तोड्ने राम्रो अवसर रहेको छ ।

साँझ ४ः४५ बजे फ्लड लाइटमा मौरिससबिरुद्ध हुने खेल नेपालको लागि कुनै पनि अफ्रिकी राष्ट्रबिरुद्धको पहिलो खेल हुनेछ । दक्षिण पुर्वी अफ्रिकी राष्ट्र मौरिसस हिन्द महासागरको द्विप हो र उसले अफ्रिकन फुटबलमै आफ्नो खुट्टा जमाउन निकै संघर्ष गर्दै आइरहेको छ ।

एक पटक मात्र अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाएको मौरिसस बिश्व बयिरतामा नेपालभन्दा मात्र तीन स्थान तल रहेको देश हो ।

तर फुटबलमा बरियता भने सबै थोक होइन । १ सय ६९ औं स्थानमा रहेको नेपाललाई मौरिसस भन्दा निकै बलियो टोलीको रुपमा लिइएको छ र यसको कारण उसले पछिल्लो केही समय यता दिदै आएको प्रदर्शन हो ।

नेपालले पछिल्लो एक बर्ष निकै बलिया राष्ट्रहरुसँग खेल्दै आएको छ र साफ च्याम्पियनसिप फाइनलसम्मको यात्रा त्यसकै नतिजाको रुपमा लिन सकिन्छ । मौरिसस भने पछिल्लो एक बर्षदेखि एक अन्तर्राष्ट्रिय खेल पनि नखेलेको टोली हो ।

२०२० मा उसले ६ वटा खेल खेलेको थियो । त्यसपछि भने मौरिसस खेल बिहिन नै रहेको छ । यद्दपि एकपटि अर्को अनुभव बटुल्दै गरेको नेपाल आफै भने तीन महिनामा पहिलो खेल खेल्दैछ । नेपाली फुटबलरहरु घरेलु लिगमा व्यस्त रहेको भएपनि अन्तर्राष्ट्रिय खेलमा कुनै पनि टोलीको लागि शुरुवात शुन्यबाट हुनेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्णका लागि टोली घोषणा गर्दा क्याम्पमा रहेका सबै खेलाडीहरुले टिममा स्थान पाएका छन् । मैत्रीपूर्ण भएकै कारण पनि अब्दुल्लाहको प्रयास सकेसम्म बढी खेलाडीलाई एक्सपोजर दिनेतर्फ हुनेछ ।

नेपाली दर्शकको आखाँ भने एक पटक स्टार फर्वार्ड बिमल घर्ती मगरमा केन्द्रित रहनेछ । मार्च २१, २०१९ मा कुवेतबिरुद्ध खेल्नु अघि प्रतिबन्धमा परेका बिमल त्यही सालको लिगबाट नेपाली फुटबलमा फर्किएपनि उनी चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका थिए ।

कतारमा उपचार गरेर फर्किएपनि उनले लिगबाट नै घरेलु फुटबलमा पुनरागमन गरे । लिगमा तीन गोल गरेका उनी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल हुँदा दुवै मैत्रीपूर्णका लागि टोलीमा रहेका छन् । दुवै मैत्रीपूर्ण बिमलका लागि आफूलाई साबित गर्नका लागि राम्रो मञ्च बन्न सक्नेछ ।

मिडफिल्डर जगजित श्रेष्ठको लागि पनि शनिबारको खेल महत्वपूर्ण रहनेछ । अष्ट्रेलियामा रहदै आएका जगजित लामो समयपछि नेपालबाट खेल्न गइरहेका हुन् र जारी लिगमा गरेको राम्रो प्रदर्शन शनिबार मैदानमा दोहोर्याउन उनी आतुर रहने छन् ।

पहिलो मैत्रीपूर्णका लागि अब्दुल्लाहले गोलकिपर टिकेन्द्र थापासहित चार नयाँ अनुहार समावेश गरेका छन् । सुदिप गुरुङ, आकाश बुढामगर र कृतिष रत्न छुन्जु अन्य तीन आउटफिल्ड खेलाडी हुन् जो नेपालको लागि डेब्यु गर्नबाट निकै नजिक रहेका छन् ।

Click to comment

Trending