Headline

अब एक बर्ष भित्रै नेपाललाई युवा खेलाडीहरुले उत्कृष्ट ट्वान्टी ट्वान्टी टिम बनाउने छन्ः दासानायके

Published

on

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले युवा खेलाडीहरुको संलग्नताले नै नेपाल अब एक बर्ष भित्र उत्कृष्ट ट्वान्टी ट्वान्टी टिम बन्ने दाबी गरेका छन् ।

दासानायके हाल नेपाललाई ओमानमा फेब्रुवरी २८ मा हुने आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटका लागि तैयार गरिरहेका छन् । दासानायकेले प्रशिक्षण दिइरहेको टोलीमा जम्मा चार जना सिनियर खेलाडी छन् जसले २०१४ ट्वान्टी ट्वान्टी बिश्वकपमा नेपालको लागि खेलेका थिए ।

शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया र प्रदिप ऐरिपछि अनुभवको आधारमा अहिले टिमका सिनियर सदस्य २४ बर्षिय आरिफ शेख हुन् भने त्यसपछि ३० बर्षिय करण केसी ।

२०१४ बिश्वकपका दौरान सोमपाल कामीलाई अण्डर १९ बाट सिधै सिनियर टिममा ल्याएका दासानायकेले यसपटक निकै नै महत्वपूर्ण प्रतियोगिताका लागि बिबेक यादव र लोकेश बमलाई भित्र्याएका छन् ।

बिबेक र लोकेशको प्रवेशले वर्तमान राष्ट्रिय टोलीमा युवाहरुले सिनियर खेलाडीलाई आउटनम्बर गरिसकेका छन् । हुन त यो काम गत अप्रिलमा नेपालमै भएको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृंखलाका दौरान नै भएको हो तर यी दुईको आगमनले नेपाली टोलीको औषत उमेर पनि घटाएको छ ।

नेपाली क्रिकेट पुस्ता हस्तान्तरणको प्रकृयामा रहँदा ट्वान्टी ट्वान्टी टिमबाट यसको शुरुवात भइसकेको हो र अब यसले चाडै नै पूर्णरुप लिने दासानायके मान्छन् ।

“नेपाली क्रिकेटमा पहिले देखि नै प्रतिभाको कमि थिएन । बिबेक र लोकेश यसको उदाहरण मात्रै हो । हेर्दै जानु अबको एक बर्ष भित्रै नेपाल जुनियर खेलाडीहरुको दममा उत्कृष्ट ट्वान्टी ट्वान्टी टोली बन्नेछ,” दासानायकेले विस्पोर्ट्जलाई भने ।

“केही अन्य युवा खेलाडीहरु पनि छन् जो टिममा नपरेपनि प्रभाव पार्न सक्ने स्तरका छन् । उनीहरुलाई एक्सपोजरको आवश्यकता छ । नेपालको खेलाडीहरुको पुल बिस्तारै बढ्दै गइरहेको छ र आफ्नो पालो कुरेर बसेका सबै खेलाडीहरु युवा नै छन् ।”

जितेन्द्र र प्रदिपले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रियमा उच्च प्रदर्शनका साथ टिममा कमब्याक गर्दा दासानायकेले ज्ञानेन्द्र र शरदको उपस्थितिले टिमलाई पूर्ण सन्तुलन दिने बताएका छन् ।

“ज्ञानेन्द्र र शरद ठूलो स्टेजको लागि निकै परिपक्व खेलाडी हुन् । अहिले ओपनिँग जोडी आक्रमक रुपले खेल्न सक्षम छ । त्यही सक्षमता ज्ञानेन्द्र र शरदमा पनि छ तर परिस्थित अनुसार उनीहरु दुवै टिमलाई सम्हालेर लिएर जान सक्छन् । बाँकी काम लोवर मिडल अर्डरले गर्नेछ,” उनले भने ।

Click to comment

Trending