Headline

मानेलाई कन्कसन भयो, बिजयी गोल गरे, मैदानबाट निस्किए, सेनेगल अन्तिम ८ मा पुग्यो

Published

on

सेनेगललाई अफ्रिका कप अफ नेसन्सको अन्तिम ८ मा पुर्याउदा स्टार सादियो मानेको कथा अजिब रह्यो । मंगलवार सेनेगलले प्रि–क्वार्टरफाइनलमा केप भर्डेलाई २–० ले पराजित गर्दा उसको बिपक्षी ९ खेलाडीमा सिमित भएको थियो ।

पेप गेमाथि फउल भएपछि प्याट्रिक एण्ड्राडेलाई गुमाएको केप भर्डे २१ औं मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । ५७ औं मिनेटमा गोलकिपर जोसिमार भोजिन्हा डियास बक्सबाट बाहिर आउदै बल रोक्ने धुनमा मानेसँग भयानक रुपमा जुध्दा केप भर्डेले आफ्नो पहिलो रोजाइको किपरलाई पनि गुमायो ।

कन्कसन भएपछि केही समयको परिक्षणपछि मैदान फर्किएका मानेले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै सेनेगललाई अग्रता दिलाए । मुख सुन्निएको देखिएका मानेलाई त्यसपछि भने सेनेगलले फिर्ता बोलाएको थियो । मानेको स्थान लिएका बाम्बा डिएँगले इन्जुरी समयको दोश्रो मिनेटमा गोल गर्दै सेनेगलको क्वार्टर–फाइनल यात्रा पक्का गरेका थिए ।

दुई पटक फाइनलमा चुकेको सेनेगल पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्ने अभियानमा रहेको छ । उसले सेमिफाइनल प्रवेशका लागि आइतबार माली अथवा इक्वेटोरियल गिनीको सामना गर्नेछ ।

अर्को अन्तिम १६ खेलमा मोरक्कोले मलावीमाथि २–१ को पनरागमन जित हात पार्यो । गाबाडिन्हो एमहाँगोले सातौं मिनेटमा नै अग्रता दिलाएका थिए । तर सेभिया स्ट्राइकर युसुफ एन–नेस्रीले पहिलो हाफको अन्त्यतिर मोरक्कोलाई खेलमा फर्काएका थिए ।

पेरिस सेन्ट जर्माइनका असरफ हकिमीले ७० औं मिनेटमा बिजयी गोल गर्दै मोरक्कोलाई अन्तिम ८ मा पुर्याएका थिए । क्वार्टर–फाइनलमा मोरक्कोले इजिप्ट अथवा आइभोरी कोस्टको सामना गर्नेछ ।

Click to comment

Trending