Headline

बहादुर कोमोरोसलाई पाखा लगाउदै क्यामरुन क्वार्टर–फाइनलमा

Published

on

कोमोरोसको बहादुरीपूर्ण चुनौतिलाई पन्छाउदै आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । तर क्यामरुनको जितलाई भने राजधानी याउन्डेको रँगशालामा भएको दुर्घटनाले छायाँमा पार्यो ।

ओलेम्बे स्टेडियममा दर्शक जबर्जस्ती भित्र प्रवेश गर्न खोज्दा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएको क्यामरुनको सरकारी मिडियाले बताएको छ । कोरोना भाइरसको कारण ६० हजार दर्शक क्षमताको रँगशालामा मात्र ६० प्रतिशतलाई प्रवेश अनुमति दिइएपनि क्यामरुनको खेलका दौरान त्यसलाई ८० प्रतिशतमा बढाइएको थियो ।

सोमबार निश्चित सिट क्षमता पुरा भइसकेपछि पनि दर्शक प्रवेश गर्न खोजेपछि भागदौड हँुदा दुर्घटना हुन पुगेको थियो ।

मैदानमा भने क्यामरुनले जित हात पारेपनि कोमोरोस सम्मानका साथ प्रतियोगिताबाट बाहिरियो ।

आफ्नो तीन गोलकिपरमध्ये दुईलाई कोरोना भाइरस र एकलाई चोटका कारण गुमाएपछि आउटफिल्ड खेलाडीलाई नै पोस्ट सम्हाल्न लगाएको कोमोरोसले खेलको अधिकांश सयम १० जनामा सिमित रहेर खेलेको थियो ।

लेफ्ट ब्याक चकर अल्हादुरले गोलपोस्ट सम्हालेका थिए भने कप्तान नदजिम अब्दु सात मिनेटमा नै रेड कार्ड खादै मैदान बाहिरिएका थिए । कार्ल टोको इकाम्बीले गोल गर्दै आधा घण्टामा क्यामरुनलाई अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा भिन्सेन्ट अबुबाकरले गोल गर्दै घरेलु टोलीको जित लगभग तय गरे । अबुबाकरले प्रतियोगितामा छैटौ गोल गरेका हुन् । ८१ औं मिनेटमा भिन्सेन्ट एमचँगामाले कोमोरोसका लागि एक गोल फर्काए ।

प्रतियोगितामा सनसनी मच्चाएको अर्को टोली गाम्बियाले भने आफ्नो प्रदर्शनबाट सबैलाई सरप्राइज गर्ने कामलाई निरन्तरता दियो । बिश्व बरियतामा १ सय ५० स्थानमा रहेको गाम्बियाले गिनीलाई १–० ले पराजित गर्यो ।

मुसा बारोले गोल गरेपछि १० खेलाडीमा सिमित भएको गाम्बिया आफ्नो पहिलो अफ्रिका कप अफ नेसन्स सहभागितामा क्वार्टर–फाइनलमा स्थान बनाउन सफल रह्यो ।

Click to comment

Trending