Headline

हामीले स्मार्ट क्रिकेट खेल्न सकेनौँ : राहुल द्रविड 

Published

on

दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले घरेलु टोली विरुद्धको तीन एकदिवसीय खेलको शृंखलामा ३-० को हार बेहोर्यो । पहिलो खेलमा ३१ रनको हारको सामना गरेको भारत दोश्रो खेलमा सात विकेटले पराजित भयो । तेश्रो खेलमा जित नजिक पुगे पनि चार रनले हार्दा दक्षिण अफ्रिकाले शृंखला माथि ह्वाइटवास गर्यो ।

एकदिवसीय शृंखलामा पराजित भए पछि भारतका पुर्व कप्तान तथा प्रशिक्षक राहुल द्रविडले आफुहरुले राम्रो खेल्न नसकेको स्विकार्दै यस शृंखलालाई “आँखा खोल्ने” शृंखलाको संज्ञा दिएका छन् ।

भारतको लागि पहिलो र तेश्रो खेलमा ओपनर शिखर धवन र पूर्व कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले पनि उनीहरुले आफ्नो अर्धशतकलाई ठुलो स्कोरमा रूपान्तरण गर्न असफल रहे । त्यस बाहेक कप्तान तथा अर्का ओपनर केएल राहुलले पनि यस शृंखलामा राम्रो प्रदर्शन दिन सकेनन् । त्यस्तै भारतको मध्यक्रम धराशायी बन्दा पनि भारतले शृंखलामा एक खेल पनि जित्न सकेन ।    

“हामीले पारीको मध्य ओभर तिर पक्कै पनि राम्रो गर्न सक्छौँ । यस शृंखलामा हामीले मध्यक्रममा साथै बीचमा सोचे अनुसारको प्रदर्शन गर्न सकेनौँ । यस शृंखलामा हामीसँग ६, ७, ८ नम्बरमा आएर आक्रामक पारी खेल्दै खेललाई अगाडि बढाउन सक्ने अलराउण्डरहरुको कमी रह्यो । जब उनीहरु चोट मुक्त हुँदै खेलमा फर्कने छन् त्यस पछि हामी अहिले भन्दा फरक शैलीको क्रिकेट खेल्न सक्छौं,” द्रविडले भने । 

“तर यसो भनी रहँदा हामीले हाम्रो गल्ति लुकाउन भने खोजेको हैन । दक्षिण अफ्रिकाको पहिलो र तेश्रो खेलमा हेर्ने हो भने उनीहरुले २९० र २८० भन्दा माथि मात्र बनाएका थिए । हामीले चेज गर्दाको ३० ओभर सम्मको खेललाई नियाल्ने हो भने हामीले दुबै खेलमा सजिलै जित दर्ता गराउन पर्ने थियो । तर हामीले दुबै खेल गुमाउँदा शृंखला पनि गुमाउन पर्यो । दुबै खेलमा हामीले खराब सट खेल्यौँ भने स्मार्ट क्रिकेट पनि खेल्न सकेनौं ।”

तीनवटै खेलमा भारतका स्पिनरहरुले खासै प्रभाव छाड्न सकेनन् । यसमा द्रविड स्पिनरलाई मात्र कमजोर देख्दैनन् । खेलको मध्य भागमा आएर बलिङ गर्ने स्पिनर होस् या तीब्र गतिका बलर सबैको योगदान उस्तै रहने र यस भागमा काम गर्न पर्ने देखिएको बताए । 

“पक्कै पनि पारीको मध्य ओभरमा स्पिनरहरुले धेरै बलिङ गर्ने गर्दछन् । तर यो भनिरहँदा यस समयमा हामीले तीब्र गतिका बलरहरुको पनि प्रयोग गरेका थियौं । हामीले यस बारेमा टिम मिटिङमा पनि चर्चा गरेका थियौं । यस क्षेत्रमा पनि हामीले गर्न पनि धेरै नै बाँकी रहेको छ । खेल जित्नका लागि मध्य ओभरको विकेटको निकै महत्व हुन्छ । आशा छ हामीले अबका खेलहरुमा यस विषयमा राम्रो गृहकार्य गर्नेछौँ । 

त्यस्तै द्रविडले मध्यक्रमका ब्याटरहरुलाई धेरै भन्दा धेरै अवसर दिने पनि बताए । एक दुई खेलमा राम्रो प्रदर्शन दिन सकेन अथवा रन जोड्न सकेन भन्दैमा उनीहरुको विकल्प नखोज्ने पनि जनाए । उनले आगामी शृंखलाहरुमा भारत अझै बलियो र सशक्त भएर आउने पनि बताए ।   

Click to comment

Trending