Headline

एक खेल बाँकी छदै भारतले दक्षिण अफ्रिकाबिरुद्ध श्रृंखला गुमायो

Published

on

ओपनरद्वय यानेमन मलान र क्विन्टन डि ककले अर्धशतकीय पारी खेल्दा दक्षिण अफ्रिकाले भारत विरुद्धको दोश्रो एकदिवसीय खेलमा सात विकेटको सहज जित हात पार्दै शृंखला माथि पनि कब्जा जमाएको छ । पहिलो खेलमा ३१ रनले पराजित भएको भारत एक खेल बाँकी रहँदा नै शृंखला गुमाउन पुगेको हो ।

जितका लागि २८८ रनको लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले ४८ दशमलब एक ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पार गर्यो ।

सुरुवात देखि नै भारती बलर माथि हाबी रहेको दक्षिण अफ्रिकाको जितमा मलान र डि ककले पहिलो विकेटका लागि २१ दशमलब छ ओभरमा १३२ रन जोड्दै राम्रो सुरुवात दिए । दक्षिण अफ्रिकाको जितमा मलानले १०८ बल खेल्दै आठ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ९१ रन जोडे भने डि ककले आक्रामक पारी खेल्दै ६६ बलमा सात चौका र तीन छक्का सहित ७८ रनको पारी खेले ।

डि ककको विकेटको पतन पछि क्रिजमा आएका कप्तान टेम्बा बभुमाले मलानसँग मिलेर ८० रनको साझेदारी गर्दै जित नजिक पुर्याए । मलान र ३५ रन बनाएका कप्तान बभुमा दुई रनको अन्तरालमा आउट भए पनि एडेन मरक्रम र रसी भान डर डुस्सेनले समान ३७-३७ रन जोड्दै दक्षिण अफ्रिकाको जित सुनिश्चित गरे ।

भारतका जस्प्रित बुम्रा, युज्बेन्द्र चहल र शार्दुल ठाकुरले समान १-१ विकेट हात पारे ।

यस अघि विकेट किपर ऋषभ पन्त र केएल राहुलले अर्धशतक प्रहार गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा २८७ रन बनायो ।

भारतको तर्फबाट पन्तले ७२ बलको सामना गर्दै १० चौका र दुई छक्का सहित सर्वाधिक ८५ रन बनाए भने कप्तान राहुलले संयमित भएर ब्याटिङ गर्दै ७९ बलमा चार चौका सहित ५५ रनको पारी खेले ।

अर्का ओपनर शिखर धवन २९ तथा विराट कोहली शुन्य रनमा आउट हुँदा राम्रो सुरुवात गर्न नसकेको भारतको लागि पन्त र राहुलले तेश्रो विकेटको लागि ११५ रनको साझेदारी गर्दै पारी सम्हाले ।

श्रेयस ऐयर ११ र भेन्कटेश ऐयर २२ रनमा आउट भए पनि शार्दुल ठाकुर र रविचन्द्रन अश्विनले अविजित रहँदै क्रमश ४० र २५ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका तबरिज शाम्सीले सर्वाधिक दुई विकेट हात पारे ।

Click to comment

Trending