Headline

पाँच धनी आईपीएल फ्रेन्चाइजहरु 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वको सबैभन्दा चर्चित लिग मध्यको एक हो । जब भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सन् २००८ मा आईपीएल सुरु गर्यो पछिल्लो १४ संस्करणमा यसले विश्व क्रिकेट र विषेश गरि भारतीय क्रिकेटलाई अर्कै स्तरमा पुर्याउन सफल रह्यो । त्यस बाहेक यसले क्रिकेटलाई नै चर्चित बनाउन पुग्यो ।

तर १५ औं संस्करण सम्म आइपुग्दा आईपीएल एउटा राम्रो व्यवसाय पनि बन्न पुग्यो । खेलाडीहरुले करोडौं रुपैयाँ कमाउनु बाहेक फ्रेन्चाइजहरुले पनि अरबौं रुपैयाँ आम्दानी गर्दछन् आईपीएलबाट । 

ठूला व्यवसायिक घरानाहरूको लगानी गरिएका कारण मात्र नभएर अन्य व्यापारीहरूले पनि यसमा लगानी गर्न इच्छुक भएकाले गर्दा पनि आईपीएलमा सहजै अनुमान लगाउन सकिन्छ । 

बिसीसीआईले १५ औं संस्करणको आईपीएलमा दुई टोली थप्ने निर्णय गर्यो । त्यसमा दुई टोलीहरु  लखनउको लागि सन्जिव गोयन्काको आरपीएसजी ग्रुपले सात हजार करोड भारु तथा अहमदाबादका लागि सिभीसी  क्यापिटल्सले ५२ सय करोड भारु खर्च गरेको थियो । त्यस्तै इंग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले समेत आईपीएलमा टोली किन्नका लागि आवेदन दिएको कुराले पनि यो कति ठुलो व्यापार हो भन्न सकिन्छ ।   

फ्रेन्चाइजहरुको आम्दानी भनेको टिभी राइट, स्पोन्सर र टिकटको पैसा हो । जर्सी नै ढाकिने गरि भिन्न ब्रान्डहरूले गरेको विज्ञापन बापत फ्रेन्चाइजहरुले करोडौं उठाउने गरेका छन् ।

यसै सन्दर्भमा हामी आज आईपीएलका पाँच धनी टोलीहरुको चर्चा गर्दैछौँ ।

५. सनराईजर्स हैदराबाद 

सन टिभीका मालिक कलानिथी मरनको स्वामित्वमा रहेको सनराईजर्स हैदराबाद १० मध्य सबैभन्दा धनी टोलीको पाँचौं स्थानमा रहेको छ । हैदराबादको प्रतिनिधित्व गर्ने यस टोलीको मूल्य पाँच सय करोड भारतीय रुपैयाँ रहेको छ ।        

सन् २०१२ मा स्थापना गरिएको यस टोलीले सन् २०१३ को संस्करणबाट आईपीएल खेल्न सुरु गर्यो । त्यसको तीन वर्ष पछि सन् २०१६ मा उसले पहिलो पटक आईपीएलको उपाधि चुम्न सफल भयो । त्यस बाहेक सन् २०१८ को संस्करणमा फाइनल सम्मको यात्रा तय गरे पनि चेन्नाई सुपर किंग्ससँग आठ विकेटले पराजित हुँदा हैदराबाद उपविजेतामा सीमित हुन पुग्यो ।

४. चेन्नाई सुपर किंग्स 

चेन्नाई सुपर किंग्स आईपीएलको सबैभन्दा सफल फ्रेन्चाइज मध्य एक हो । पहिलो संस्करण देखि हाल सम्म भारतका पूर्व तथा सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईको स्वामित्व भारतीय क्रिकेट बोर्डका अध्यक्ष एन श्रीनिवासनको इन्डियन सिमेन्टको नाममा रहेको छ । 

आफुले खेलेका १२ संस्करणमा नौ पटक फाइनलको यात्रा तय गरेको चेन्नाईले सन् २०१०, २०११, २०१८ र २०२१ को आईपीएलको उपाधि चुमेको थियो भने सन् २००८, २०१२, २०१३, २०१५ र २०१९ मा गरेर पाँच पटक उपविजेतामा सीमित भएको थियो । मालिकहरु सट्टेबाजमा संलग्न भएको भन्दै चेन्नाई र राजस्थान रोयल्सलाई बिसीसीआईले सन् २०१६ र २०१७ गरेर दुई सिजनको लागि प्रतिबन्ध लगाएको थियो ।

चेन्नाईको बजारी मूल्य ६ सय ९७ करोड भारतीय रुपैयाँ रहेको छ । नौ पटकको फाइनल खेलेको टोली तथा सबैभन्दा धेरै पटक प्लेअफ सम्म पुग्ने टोली धनी क्लबहरुको सुचीको चौथों स्थानमा पुग्नु सबैलाई अस्चार्य पार्ने विषय हो । तर दुई सिजनको प्रतिबन्धले पनि यसको असर परेको नकार्न सकिन्न ।

३. रोयल च्यालेन्जर्स बेंगलोर 

सफलताको कुरा गर्ने हो भने बेंगलोर आईपीएलका सबैभन्दा असफल टोली हो । तीन पटक फाइनलको यात्रा तय गरेको बेंगलोरले एक पटक पनि उपाधि चुम्न सकेको छैन । त्यस बाहेक उसले दुई पटक प्ले अफमा स्थान बनाएको थियो भने बाँकी संस्करणमा खासै राम्रो प्रदर्शन दिन सकेको थिएन ।

उपाधि चुम्न असफल रहे पनि सायद चर्चित भएका कारणले नै होला रोयल च्यालेन्जर्स बेंगलोर ६ सय ७९ करोड भारतीय रुपैयाँ सहित धनी क्लबहरुको सुचीको तेश्रो स्थानमा रहेको । भारतका चर्चित ब्यापारी विजय माल्याको लगानी रहेको बेंगलोर पछि उनकै कम्पनी युनाइटेड स्प्रिट्सको नाममा रहेको छ ।   

चर्चित खेलाडीहरुको बाहुल्यता रहने भएका कारण पनि बेंगलोर समर्थक माझ निकै चर्चित छ । राहुल द्रविड, केविन पिटरसन, अनिल कुम्बले र डेनियल भेट्टोरी जस्ता चर्चित पुरा खेलाडी देखि विराट कोहली र एबी डि भिलियर्स जस्ता चर्चित नामले गर्दा पनि बेंगलोरको मूल्य धेरै भएको सजिलै अनुमान लगाउन सकिन्छ ।

२. कोलकाता नाइट राईडर्स 

बलिउडका चर्चित हिरो शाहरुख खान, जुही चावला र जय मेहताको लगानी रहेको कोलकाता नाइट राईडर्स सात सय ४० करोड भारतीय रुपैयाँ सहित सबैभन्दा धनी आईपीएल टोलीको दोश्रो स्थानमा छ ।

तीन पटक फाइनलमा स्थान बनाएको कोलकाताले सन् २०१२ र सन् २०१४ मा गरेर दुई पटक उपाधि चुम्दा गत संस्करणमा उपविजेतामा खुम्चिन पुगेको थियो । त्यस बाहेक उसले अर्को दुई पटक प्लेअफ सम्मको यात्रा तय गरेको थियो ।

उपाधिको हिसाबले हेर्ने हो भने एकदमै सफल टोली नरहेको र चर्चित खेलाडीहरुको पनि बाहुल्य नरहे पनि कोलकाताले धनी टोलीमा चेन्नाई र बेंगलोर जस्ता टोलीलाई पछि पार्न सफल भएको छ । यसको मुख्य कारण शाहरुख पनि हुनसक्दछ ।

१. मुम्बई इन्डियन्स 

मुम्बई इन्डियन्स आईपीएलको सबैभन्दा सफल र सबैभन्दा धनी क्लब हो । पाँच पटकको उपाधी विजेता मुम्बईको बजारी मूल्य १०० मिलियन डलर भन्दा बढी रहेको छ र उ १०० मिलियन डलरको आईपीएल टोली बन्ने पहिलो र एक मात्र टोली हो ।

भारतका धनाड्य मुकेश अम्बानीको लगानीमा रहेको मुम्बई पाँच पटक आईपीएलको उपाधि जित्ने एक मात्र टोली हो । उसले सन् १०१३, सन् २०१५, सन् २०१७,सन् २०१९ र सन् २०२० मा गरेर पाँच पटक आईपीएलको उपाधी जितेको थियो भने सन् २०१० को संस्करणमा उपविजेतामा सीमित भएको थियो ।

 मुम्बईको बजारी मूल्य आठ सय तीन करोड भारतीय रुपैयाँ रहेको छ ।   

 

 

Click to comment

Trending