Headline

बिश्वस्तरीय जोटा–प्रेरित लिभरपुल ६ बर्षपछि लिग कपको फाइनलमा

Published

on

डिओगो जोटाले दुई गोल गर्दै लिभरपुललाई ६ बर्षपछि इंगलिस लिग कपको फाइनलमा पुर्याएपछि व्यवस्थापक योर्गन क्लोपले पोर्चुगिज फर्वार्डलाई बिश्वस्तरीय खेलाडीको रुपमा व्याख्या गरेका छन् ।

सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा टुँगिएपछि लिभरपुलले बिहिबारको दोश्रो लेगमा आर्सनललाई २–० ले पराजित गर्यो । फेब्रुवरी २७ मा हुने फाइनलमा लिभपुलले उपाधिका लागि चेल्सीको सामना गर्नेछ ।

पहिलो हाफमा अग्रता दिलाएका जोटाले दोश्रो हाफको अन्त्यतिर अर्को गोल गर्दै लिभरपुललाई मोहम्मद सलाह र सादियो मानेको अनुपस्थिति खड्किन दिएका थिएनन् । उच्च लयमा रहेका सलाह र माने अफ्रिका कप अफ नेसन्सका लागि राष्ट्रिय टोलीमा रहेका कारण लिभरपुलले पछिल्लो केही खेलहरुमा सन्तोषजनक प्रदर्शन दिन सकिरहेको थिएन ।

जोटाले यो सिजन लिभरपुलका लागि सबै प्रतियोगिता गरेर १४ गोल गरिसकेका छन् । “हामीले दुई बिश्वस्तरीय गोल गर्यो । डिओगो जोटा निकै लयमा छन्,” लिभरपुल व्यवस्थापक क्लोपले भने ।

“जब उनी एन्फिल्ड आए उनले क्लबलाई धेरै दिन सक्नेमा हामी बिश्वस्त थियौं । अहिले उनले राम्रै छलाँग मारिसकेका छन् । उनी बिश्वस्तरीय स्ट्राइकरमा परिणत हुँदै गइरहेका छन् ।”

पछिल्लो पटक २०१२ मा लिग कप जितेको लिभरपुल २०१६ पछि पहिलो फाइनलमा पुगेको हो । लिभरपुल किर्तिमानी नवौं पटक उपाधि जित्ने दाउमा छ । २०१५ मा लिभरपुल सम्हाले यता क्लोपले पाचौं पटक टिमलाई फाइनलमा डोर्याएका हुन् ।

पहिलो लेगमा ग्रानित जाकालाई रेड कार्डका कारण गुमाएपछि एक घण्टा भन्दा बढी समय १० खेलाडीमा खेल्दै लिभपुललाई रोक्न सफल आर्सनलको लागि यो हार भने निकै कष्टकर रह्यो । इन्जुरी समयमा थोमस पार्टेलाई दोश्रो पहेलो कार्डका कारण गुमाउदा त्यसले घाउमा नुन छर्ने काम मात्र गर्यो ।

खेलमा आर्सनलले पनि केही मौकाहरु गुमाएको थियो । पहिलो हाफको शुरुवात तिरै एलेक्जेण्डर लाकाजेटको फ्रि किक क्रसबारमा लाग्न पुगेको थियो । १९ औं मिनेटमा आर्सनलको डिफेन्सलाई तोड्दै लिभरपुलले गोल गर्यो ।

रोबर्टो फर्मिनोको ब्याक हिल मिडफिल्डमा कलेक्ट गरेका ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्डले जोटालाई बायाँतर्फ पास निकाले । बल लिएर आर्सनलको बक्समा छिरेका जोटाले टोमियासुलाई नटमेग गर्दै तीन डिफेन्डरको दवाबका बीच गोलकिपर आरोन राम्सडेललाई बिट गर्दै गोल गरेका थिए ।

लगतै अनर्माक रहेका लाकाजेटले अल्बर्ट साम्बी लोकोँगाको पासमा गोल गर्ने सुनौलो मौका गुमाए । एलेक्जेण्डर–आर्नोल्डकै पासमा राम्सडेलको माथिबाट बल चिप गर्दै जोटाले ७७ औं मिनेटमा टिमको जित सुनिश्चित गरेका थिए ।

Click to comment

Trending