Headline

अफ्रिका कप अफ नेसन्समा अल्जेरियाः कि त च्याम्पियन, कि त पहिलो चरणबाटै आउट

Published

on

आइभोरि कोस्टसँग ३–१ ले पराजित भएपछि अफ्रिका कप अफ नेसन्सको साबिक बिजेता अल्जेरिया एक पटक फेरि पहिलो चरणबाटै बाहिरिएको छ ।

फ्रान्क केस्सी र इब्राहिम सान्गारेले पहिलो हाफमा गोल गरेपछि खेलमा पकड जमाएको आइभोरी कोस्टका लाग निकोलस पेपेले दाश्रो हाफमा अर्को एक थप्दै टिमलाई समुह इ बिजेताको रुपमा अन्तिम १६ मा प्रवेश गराएका थिए ।

पछिल्लो ६ अफ्रिका कप अफ नेसन्समा अल्जेरिया चौथो पटक समुह चरणबाटै बाहिरिएको हो । २०१९ को संस्करण अपवादको रुपमा रहँदा उसले उपाधि नै जितेको थियो । यसपटक भने उसको उपाधि रक्षा गर्ने अभियान भने निकै खराब रहन पुग्यो ।

अल्जेरिया क्यामरुन आउदा उसले तीन बर्षदेखि एक खेल पनि हारेको थिए । लगातार ३५ खेलमा अपराजित रहे पनि उ जारी प्रतियोगिताको पहिलो खेलमा सिएरा लियोनसँग बराबरीमा रोक्किएको थियो । त्यो अपराजित यात्रामा पूर्णबिराम लाग्दा अल्जेरिया इक्वेटोरियल गिनीसँग पराजित भयो ।

अल्जेरियन टोलीका सबैभन्दा ठूला स्टार रियाद माह्रेजले दोश्रो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका थिए । सोफियाने बेन्डेब्काले एक गोल फर्र्काए पनि त्यो निकै ढिलो आएको थियो । अल्जेरियाले क्यामरुनमा गरेको त्यो नै पहिलो र अन्तिम गोल बन्यो ।

“निकै सहज भाषामा भन्ने हो भने हामी फेल भयौं । प्रतियोगिताको शुरुवातदेखि नै हामी पाएका मौकाहरु सदुपयोग गर्न असफल रह्यौ । पेनाल्टीमा पनि चुक्यौं । हामी यहाँ राम्रो खेल्नै सकेनौं,” अल्जेरियन प्रशिक्षक डिजमेल बेलमाडीले भने ।

आइभोरी कोस्टलाई हराएको भए अल्जेरिया नकआउट चरणमा पुग्ने थियो तर असफल अल्जेरियाबाट त्यो अपेक्षा गर्न समेत गाह्रो थियो । आइभोरी कोस्टले अब नकआउट चरणमा मोहम्मद सलाहको इजिप्टबिरुद्ध खेल्नेछ ।

सिएरा लियोनलाई १–० ले हराउदै इक्वेटोरियल गिनी भने समुह उपबिजेताको रुपमा अन्तिम १६ प्रवेश गर्न सफल भयो । पहिलो हाफमा पाब्लो गानेटले गरेको गोल इक्वेटोरियल गिनीका लागि पर्याप्त थियो । अन्तिम १६ मा उसले अब समुह एफ को बिजेता मालीसँग खेल्नेछ ।

मालीले आफ्नो समुहको अन्तिम लिग खेलमा यसअघि नै बाहिरिसकेको मउरिटानियालाई २–० ले हरायो । माली गोल अन्तरको आधारमा समुह बिजेता बन्यो भने गाम्बिया उपबिजेता ।

गाम्बियाले आफ्नो अन्तिम लिग खेलमा बिहिबार रातिको खेलमा ट्युनिसियालाई १–० ले हरायो । गाम्बियाका लागि इन्जुरी समयको तेश्रो मिनेटमा एल्बी जालोले गोल गरेका थिए । पहिलो हाफमा गाम्बिया गोलकिपर बबुकार गायेले सिफेदिने जजिरीको पेनाल्टी बचाएका थिए ।

ट्युनिसियाले लिग चरणका सबै खेलमा पेनाल्टी मिस गरेको हो । कप्तान वाह्बी खजरीले मालीसँगको हारमा र युसेफ एमसाक्नीले मउरिटानियासँगको जितमा पेनाल्टी खेर फालेका थिए । गाम्बियाले नकआउट चरणमा गिनीको सामना गर्नेछ ।

चार उत्कृष्ट तेश्रो स्थान हात पार्ने टोली मध्येको एक ट्युनिसियाले अन्तिम १६ मा बलियो नाइजेरियाबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending