Headline

७ बर्षपछि जितेन्द्रले देखेको उज्यालो

Published

on

जितेन्द्र मुखियाको कति रात अत्तालिएर बित्यो उनी आफैलाई थाहा छैन ।

रौतहटका २९ बर्षिय दायाँ हाते मिडियम पेस बलर नेपालले पहिलो र हालसम्म एक मात्र ट्वान्टी ट्वान्टी बिश्वकप खेल्दाका नायकहरु मध्येका एक थिए ।

८ बर्ष अगाडी बंगलादेशमा अफगानिस्तानबिरुद्धको बिश्वकप खेलमा जितेन्द्र म्यान अफ द म्याच थिए । महत्वपूर्ण १९ औं ओभर बलिँग गर्दा जितेन्द्रले मात्र ६ रन खर्चदै समिउल्लाह सेनवारीको विकेट लिएका थिए ।

अफगानिस्तानलाई अन्तिम १२ बलमा ३० रनको आवश्यकता हुँदा जितेन्द्रले मात्र ६ रन खर्चेपछि उनको ओभर नै नेपालको ९ रनको जितको आधार बन्यो ।

नेपाली क्रिकेटका लागि अफगानिस्तानमाथि बिश्वकपको जितले छुट्टै अर्थ राख्छ । त्यसैले जितेन्द्रको त्यो १९ औं ओभर अहिले पनि धेरै समर्थकहरुको मानस पटलमा छ ।

चर्चा चार ओभरमा १८ रन खर्चदै तीन विकेट लिने जितेन्द्रको मात्र भएन । प्रशिद्ध वेष्ट इण्डिज कमेन्टेटर इयान बिसपको पनि भयो । जितेन्द्रको त्यो ओभरलाई लिएर बिसपले ट्विट जो गरेका थिए ।

“कसैले जितेन्द्र मुखियालाई सिपिएल (क्यारेबियन प्रिमियर लिग) का लागि अनुबन्ध गर्नुस । योर्करहरुको चार ओभर सुनको मुल्य सरह थियो । मात्र २१ बर्ष, एक्सपोजर पायो भने के हुन्छ कल्पना गर्नुहोला,” जितेन्द्रले प्रभाव पारेपछि बिसपले ट्विट गरिदिए ।

“त्यो क्षण मेरो लागि मात्र होइन, सबै नेपालीको लागि खुशीको दिन थियो । खेलाडीको रुपमा शायद हाम्रो जीवनकै सबैभन्दा खुशीका दिनहरु,” मार्च २०, २०१४ को त्यो साँझ सम्झदा आज पनि जितेन्द्रको रौं ठाँडो हुन्छ ।

अंग्रेजीमा ‘गुज बम्प्स’ भने झै आभाष दिने गरेको त्यो खेल सम्झदा जितेन्द्र बिहिबार त्यही खुशी नजिक पुग्दै थिए । ७ बर्षपछि जितेन्द्र पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् । नेपाली क्रिकेटमा कुनै पनि खेलाडीले पुनरागमनका लागि कुरेको यो सबैभन्दा लामो समय होला ।

उनको पर्खाई शुरु भएर अन्त्य हुँदा अहिले नेपाली टोली मात्र नभई नेपाली क्रिकेट नै फरक भइसकेको छ ।

२०१४ बिश्वकपमा हँगकँगबिरुद्ध अन्तिम विकेट लिएपछि जितेन्द्र

प्रशिक्षक पुबुदु दासानायकेले ओमानमा फेब्रुवरीमा हुने आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपका लागि छानेको १६ सदस्यीय अन्तिम टोलीमा पुर्व कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर मात्रै जितेन्द्र बाहेक बंगलादेशमा बिश्वकप खेल्ने टिमका अन्य दुई सदस्य रहेका छन् ।

त्यो समय आरिफ शेख र करण केसी नेपालको सिनियर टोलीमा आगमन नजिक थिए भने बिहिबार घोषणा भएको टोलीका अन्य सदस्यहरु उमेर समुहको क्रिकेटमै थिए ।

कोही त नेपाली क्रिकेटको दृश्यमै थिएनन् ।

“निरन्तर बाहिरिनु पर्दाको पिँडा कस्तो हुन्छ मैले शब्दमा भन्नै सक्दिन । शायद त्यो मेरो धैर्यताको परिक्षा थियो । सबैभन्दा गाह्रो राति हुन्छ, जब तपाई सुत्नै सक्नुहुन्न अनि मनमा धेरै कुरा खेल्न थाल्छन् । कति पटक त अब मैले राष्ट्रिय टोलीको बारेमा कल्पना नगर्दा पनि हुन्छ भन्ने सोँचले मलाई खाइरह्यो,” जितेन्द्र ती रातहरु सम्झदा अझै पनि कष्ट महसुस गर्छन् ।

“मेरो लागि अब क्रिकेट भनेको नेपाल भित्र मात्रै थियो, सोँचमा पनि । तर मनको कुनै अध्यारो कुनामा आशाको सानो किरण भने अझै बलि नै रहेको थियो । त्यसले मलाई दृढ बनायो । म त बिश्वकप खेलेको बलर पो हो त, हार खानु हुन्न भन्ने भयो । घरेलु मै भएपनि मैले निरन्तर मिहिनेत गरे ।”

एक्कासी बदलिएको समय

बंगलादेशबाट फर्के लगत्तै जितेन्द्रलाई बिश्वकपकै दौरान अलि अलि सताएको ढाँडको समस्या बल्झियो । नेपालमै धेरै ठाँउ घुम्दै उनले उपचार खोजे, गरे पनि, तर खासै फरक महसुस गर्न सकेनन् ।

पुबुदु त्यो समय नेपालकै प्रशिक्षक थिए । उनले जितेन्द्रलाई आफू क्यानडाको प्रशिक्षक रहँदाका भारतीय फिजियोथेरपिस्ट एजाज असाईसँग सम्पर्क स्थापित गराइदिए । जितेन्द्रले एक महिना असाईकै निगरानीमा मुम्बईमा उपचार गरे ।

भारतबाट फर्किएपछि स्कटल्याण्ड र आयरल्याण्डमा भएको २०१५ आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप छनोटका लागि नेपाली टोलीमा परे । तर टिममा अर्का तिब्र गतिका बलरको आगमन भइसकेको थियो जो ब्याटिँग पनि गर्न सक्थे – करण केसी ।

करण र सोमपाल दुवै फास्ट बलिँग अलराउण्डर भएका कारण जितेन्द्रको ठाँउ खुम्चिदै गयो । पुर्व कप्तान पारस खड्का आफै पनि तिब्र गतिको बलिँग गर्थे । जितेन्द्र चोटबाट बाहिर निक्ली सकेपनि उनलाई लिएर टिमले ग्याम्ब्लिँग गर्न चाहेन ।

आयरल्याण्ड र स्कटल्याण्डको बिश्वकप छनौटमा जितेन्द्रले जम्मा दुई खेल खेले, त्यो मध्ये एक ‘वास आउट’ थियो । लगत्तै स्कटल्याण्डबिरुद्धको आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका दुई खेल थिए । तर जितेन्द्र घर फर्काइए । टिममा ब्याटिँग नगर्ने उनी मात्रै थिए ।

करण र सोमपालले आधा दशकभन्दा बढी समय नेपाली क्रिकेटमा राज गर्दा जितेन्द्र टिमको रोजाईमै पर्न छाडे । यसैबीच नेपाल क्रिकेट संघ निलम्बनमा पर्यो र घरेलु क्रिकेट पनि ठप्प भयो ।

क्यानको अनुपस्थितिमा राष्ट्रिय खेलकुद परिषदले गर्ने गरेको र अहिले निरन्तरता दिएको प्रधानमन्त्री कप क्रिकेटमा पनि उनी त्रिभुवन आर्मी क्लबका लागि देखिन छाडे । फेरि पनि सोमपाल र करण नै यसको कारण बने । दुवै आर्मीको प्रमुख हतियार रहे भने ठूलो शट खेल्न सक्ने बिक्रम सोब अर्को रोजाई परे ।

राष्ट्रिय टोलीमा दुई दायाँ हाते बलर रहिसक्दा केही खेलहरुमा नेपाल पुलिस क्लबका बायाँ हाते बलर ललित सिँह भण्डारी टिमको रोजाइमा परे ।

फ्रान्चाइज क्रिकेट जितेन्द्रको लागि पुनरागमन गर्ने एक मात्र माध्यम बन्यो । टोलीमा त्यही फ्रान्चाइज प्रतियोगिता मार्फत सोमपाल र करण बाहेक अर्का एक फास्ट बलरको आगमन भयो । यसपटक अविनाश बोहोराले बाजी मारे ।

अविनाशले युएईबिरुद्धको ट्वान्टी ट्वान्टी श्रृंखलाबाट नेपाली टोलीमा डेब्यु गरे । उनी म्यान अफ द सिरिज नै भए । त्यस यता उनी निरन्तर टोलीमा छन् । जितेन्द्रको लागि अब क्याम्पको ढोका समेत बन्द हुन थाल्यो । अहिले राष्ट्रिय टोलीमा कमल सिँह ऐरि, बिक्रम र गुल्शन झाको पनि आगमन भइसकेको छ ।

“क्याम्पमा पनि पर्न छोडे पछि त मेरो फ्रस्ट्रेसन झनै बढ्न थालेको थियो । मैले निरन्तर क्रिकेट खेल्दै राम्रै गरिरहेको जस्तो लाग्थ्यो तर प्रारम्भिक टोलीमा पनि मेरो नाम आउन छोड्यो । मैले कस्तो महसुस गर्न थालेको थिए त्यो बयान गर्नै सक्दिन,” जितेन्द्रले भने ।

“हामीसँग पहिलो नै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता थियो । त्यसपछि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि पार्यौ । म घरेलु क्रिकेटमै सिमित भइरहेको थिए । यसले मलाई धेरै नै पोल्यो ।”

बल्ल आयो पालो

गत बर्ष सोमपाल र करण अबु धाबी टि–टेन लिगमा सहभागि हुने भएका कारण प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रियबाट आफ्नो नाम फिर्ता लिए । आर्मीको आक्रमण जितेन्द्र र बिक्रमले सम्हाले ।

सेमिफाइनल र फाइनल गरेर जितेन्द्रले सात विकेट लिए । धारिलो बलिँग गर्दै शुरुवाती तीन विकेट लिएका उनी फाइनलका म्यान अफ द म्याच थिए । घरेलु क्रिकेटमै बल्ल उनको पुनरागमनले सफल अवतरण गर्यो । त्यो प्रतियोगिताले जितेन्द्रलाई मानसिक रुपले बलियो बनायो ।

यस्तै प्रदर्शन उनले एभरेष्ट प्रिमियर लिगमा दोहोर्याए । भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा लोकेश बमको धमाकालाई एक छेउ राख्ने हो भने उनको प्रदर्शन राम्रै देखिन्छ ।

७ विकेट लिएका जितेन्द्रको लागि एपिएफबिरुद्धको सेमिफाइनल २ दशमलव ३ ओभरमा २० रन खर्चिएर एक विकेट लिदासम्म राम्रै गइरहेको थियो । लोकेशको आगमनपछि खेल र उनको इकोनोमी दुवै परिवर्तन भयो ।

लोकेशले उनलाई दुई पटक लगातार तीन छक्का प्रहार गर्दा जितेन्द्रले चार ओभरमै ५७ रन खाएका थिए । तर यसलाई उनले हरेक कोणले सकारात्मक रुपमा लिए ।

“एकै खेलको प्रदर्शनलाई लिएर नतिजामा पुग्न हुँदैन । यहाँ क्रेडिट लोकेशलाई दिनुपर्छ । त्यो उनको दिन थियो । उनले कुनै गल्ति नै गरेनन् । उनको इनिङ्गसले के पनि प्रष्ट पार्छ भने अहिले नेपालमा बलरहरुलाई घरेलु खेलमै पनि धेरै चुनौति छ । यसले प्रतिस्पर्धालाई अझै तिब्र बनाउछ । हामी अर्कै मानसिकता लिएर ब्याटिँग गर्न थालिसकेको छौं,” उनले भने ।

जितेन्द्र टिममा फर्किएका त छन् तर उनलाई अहिलेको आएको मौकामा खरो उत्रन उत्तिकै चुनौति छ । त्यो चुनौति पुबुदुले अब राख्ने क्लोज क्याम्पबाटै शुरु हुन्छ ।

नेपाली क्रिकेटमा टिममा स्थान बनाएर भित्र बाहिर हुँदै गरेका बाहेक अन्य धेरै तिब्र गतिका बलरहरु आइसकेका छन् । प्रतिस जिसी, रिजन ढकाल, दुर्गेश गुप्ता, मोहम्मद हुसैन, प्रकाश जैसी र अनुज चुनारा घरेलु क्रिकेटमा धेरैले बारम्बार सुन्न थालिसकेको नाम हो ।

यी सबै खेलाडीहरु ब्याटबाट पनि योगदान दिनसक्ने भएका कारण जितेन्द्रलाई गल्ति गर्ने कुनै मौका नै छैन ।

“मलाई थाहा छ चुनौति एकदम धेरै छ । मेरो लागि यस्तो मौका फेरि नआउन पनि सक्छ । मैले यहाँ सम्म आउन पनि सात बर्षदेखि मिहिनेत गर्दै आएको छु । यो मौकालाई म खेर जान दिन्न ।”

Click to comment

Trending