Headline

रोनाल्डो सब्स्टिच्युट हुनु पर्दा रिसाएपछि युनाइटेडको जित छायाँमा

Published

on

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले सब्टिच्युट हुन परेपछि दिएको प्रतिकृयाले इंगलिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडको शान्दार जित छायाँमा परेको छ ।

गोलकिपर डेभिड डि जियाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि हौसिएको युनाइटेडले बुधबार ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्यो । प्रिमियर लिगमा युनाइटेडको यो तेश्रो खेलमा पहिलो जित थियो । एन्थोनी एलाँगाको गोलबाट अग्रता लिएको युनाइटेडका लागि मेसन ग्रिनउड र मार्कस रासफोर्डले १–१ गोल थपेका थिए ।

तर खेलमा डि जियाको प्रदर्शन र युनाइटेडको जित भन्दा पनि ७१ औं मिनेटमा सब्स्टिच्युट हुन परेपछि रोनाल्डोले व्यवस्थापक राल्फ राँगनिकलाई दिएको प्रतिकृयाले हेडलाइन बनायो ।

बाहिर बोलाइएको थाहा पाएपछि टाउको हल्लाएर बरबराउदै बाहिर निक्लिएका रोनाल्डो टचलाइनमा पुगेपछि राँगनिकलाई केही भन्दै बेञ्चसम्म पुगेका थिए । बेञ्चमा आफ्नो ज्याकेट फालेर रोनाल्डोले छाती तर्फ औला देखाउदै रुष्ट भएर बोलिरहँदा सँगै रहेका अन्य टिम सदस्य नर्भस देखिए ।

राँगनिकले शुरुवातमा रोनाल्डोको व्यवहार प्रति खासै मतलब नगरेपनि पछि उनीसँगै बसेर केही भनिरहेका थिए । राँगनिकले हातले तान्दै उनको कान नजिकै मुख लगेर केही भनिरहेको स्पष्ट देखिएको थियो ।

३६ बर्षिय रोनाल्डोको तिखो व्यवहारले उनको राँगनिकको सिस्टममा फिट हुने इच्छा तर्फ ताजा प्रश्न उठेको छ । खेलपछि रोनाल्डोको व्यहारलाई लिएर गरिएको प्रश्नमा राँगनिक उनकै रक्षामा उत्रिएका थिए ।

“यो सामान्य हो । उनी स्ट्राइकर हुन् र सधैं धेरै गोल गर्न चाहन्छन् । उनी सानो चोटबाट बाहिर निक्लिएका छन् र मेरो लागि उनी आगामी खेलहरुका लागि शत प्रतिशत फिट हुन आवश्यक छ,” राँगनिकले भने ।

“एस्टन भिल्ला बिरुद्ध जस्तै हामी २–० ले अगाडी थियौं । यसपटक त्यो अग्रता जोगाउने लक्ष्य बनायौं र त्यही कारणले डिफेन्समा पाँच खेलाडी राख्ने रणनीतिले उनलाई बाहिर बोलायौं,” पछिल्लो खेलमा एस्टन भिल्लाबिरुद्ध २ गोलको अग्रता जोगाउन असफल भएर बराबरीमा रोकिएको खेलतर्फ इंगित गर्दै युनाइटेड व्यवस्थापकले भने ।

कम से कम च्याम्पियन्स लिगमा स्थान बनाउने अभियानमा रहेको युनाइटेड शिर्ष चारबाट ६ अंकको दुरीमा सातौं स्थानमा रहेको छ । युनाइटेड भन्दा एक खेल बढी खेलेको वेष्ट ह्याम ३७ अंक सहित चौथो स्थानमा छ ।

Click to comment

Trending