Headline

मिडल अर्डर फ्लप हुँदा भारत दक्षिण अफ्रिकासँग पराजित

Published

on

मिडल अर्डर चल्न नसकेपछि दक्षिण अफ्रिकाबिरुद्धको पहिलो एकदिवसीयमा भारत ३१ रनले पराजित भएको छ ।

पार्लमा केएल राहुलको कप्तानीमा रहेको भारतबिरुद्ध रासी भान डर डुसेन र कप्तान टेम्बा बभुमाले शतक प्रहार गर्दै बिशाल साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा मात्र चार विकेटको क्षतिमा २ सय ९६ रनको बिशाल योगफल खडा गर्यो ।

पुर्व कप्तान बिराट कोहली र टिममा फर्किएका शिखर धवनले भारतलाई खेलमै राखेपनि मिडल अर्डरले योगदान दिन नसक्दा भारतले ८ विकेटको क्षतिमा २ सय ६५ रन मात्र बनाउन सक्यो ।

राहुल (१२) आउट हुँदा भारतले पहिलो विकेटका लागि ४६ रन जोडेको थियो । अर्का ओपनर धवन र कोहलीले दोश्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै टिमलाई राम्रो अवस्थामा पुर्याएका थिए ।

धवन र कोहली १४ रनको अन्तरमा पेभिलियन फर्किएपछि भारतको इनिङ्गस धर्मराएको थियो । ८४ बलमा ७९ रन बनाएका धवनलाई केशव महाराजले बोल्ड गरेका थिए भने कोहली ५१ रनमा तब्रेज शाम्सीको शिकार बने । धवनले १० चौका प्रहार गरे ।

रिसभ पन्त (१६) र श्रेयस ऐयर (१७) ले केही बेर इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि लुँगी एनगिदी र एन्डिले फेलुक्वायोले दुई–दुई विकेट लिँदा भारतले मिडल अर्डरका चार ब्याट्स्म्यानलाई मात्र १९ रनमा गुमाएको थियो ।

आठौं नम्बरमा ब्याटिँग गर्न आएका शार्दुल ठाकुरले ४३ बलमा ५० रन बनाएपनि भारतको लागि निकै ढिलो भइसकेको थियो । पहिलो एकदिवसीय अद्र्धशतक बनाउदै नटआउट रहेका शार्दुलले पाँच चौका र एक छक्का हिर्काए ।

यसअघि पहिलो तीन विकेट ६८ रनमै गुमाएको दक्षिण अफ्रिकालाई बभुमा र भान डर डुसेनले चौथो विकेटका लागि २ सय ४ रनकोसाझेदारी गर्दै बिशाल योगफल तर्फ डोर्याएका थिए ।

करिअरकै सर्वाधिक योगफल बनाउने क्रममा भान डर डुसेनले ९६ बलमा १ सय २९ रन बनाए । उनको इनिङ्गसमा ९ चौका र चार छक्का सामेल थियो । उनको यो कअिरको दोश्रो शतक हो ।

यस्तै बुभमाले पनि करिअरको दोश्रो शतक बनाउने क्रममा १ सय ४३ बलको सामना गर्दै ८ चौकाको मद्दतमा १ सय १० रन बनाए । भारतका लागि जसप्रित बुम्राह्ले सर्वाधिक दुई विकेट लिए ।

Click to comment

Trending