Headline

आर्मीलाई फराकिलो अन्तरले हराउदै एपिएफ प्रधानमन्त्री कपको फाइनलमा

Published

on

उत्कृष्ट ब्याटिँग प्रदर्शन गरेको नेपाल एपिएफ क्लबलाई त्रिभुवन आर्मी क्लबलाई ४७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि मैदानमा आसिफ शेखको उत्कृष्ट इनिङ्गस र पुर्व आर्मी खेलाडी लोकेश बमको घरेलु ट्वान्टी ट्वान्टीकै सबैभन्दा तिब्र गतिको अद्र्धशतकमा एपिएफले आर्मीबिरुद्ध २ सय ३० रनको बिशाल योगफल खडा गर्यो ।

भिम सार्कीले छरितो शुरुवात दिलाएपनि आर्मीले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ८३ रन बनायो । बुधबार नै हुने फाइनलमा एपिएफले अर्को बलियो टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

भिमले पहिलो विकेटका लागि पावरप्लेमै हरि बहादुर चौहन (२२) सँग ५५ रनको साझेदारी गरेका थिए । तर अर्को १५ रन जोड्ने क्रममा आर्मीले ५ विकेट गुमाउन पुग्यो । राजेश पुलामी मगर र सुमित श्रेष्ठ (२४) ले छैटौं विकेटका लागि ५७ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भने रहेन ।

राजेशले २१ बलमा ३८ रन बनाउदा चार चौका र एक छक्का प्रहार गरे । यस्तै शाहब आलमले २१ रन बनाए । शरदले चार ओभरमा १६ रन खर्चिए भने भुवन कार्कीले पनि २ विकेट लिएका थिए ।

कप्तान शरद भेषावकरले दुवै ओपनर सहित तेश्रो नम्बरका तुल बहादुर थापाको विकेट लिए भने अविनाश बोहोराले एकै ओभरमा खतरा बन्न सक्ने कुशल मल्ल (७) र कप्तान बिनोद भण्डारी (१) लाई पेभिलयन फर्काउदै एपिएफको जितलाई लगभग सुनिश्चित पारेका थिए ।

यसअघि आशिफ र लोकेश बमले बिष्फोटक ब्याटिँग गर्दा आर्मी नीरिह साबित हुन पुग्यो । एपिएफले खेलमा २१ चौका र १६ छक्का प्रहार गरेको थियो । ती मध्ये ९ छक्का लोकेशकै नाममा रह्यो । लोकेशले १४ बलमै अद्र्धशतक पुरा गरेका थिए ।

एपिएफलाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा आसिफले पहिलो विकेटका लागि प्रदिप ऐरिसँग १ सय ५० रनको बिशाल साझेदारी गरेका थिए । जारी पिएम कपमा प्रदिप र आसिफले दोश्रो पटक शतकीय साझेदारी गरेका हुन् ।

आसिफको विकेट पतनपछि लोकेशले एपिएफलाई बिशाल योगफल तिर डोर्याएका थिए । जितेन्द्र मुखियालाई एकै ओभरमा लगातार तीन छक्का प्रहार गरेका लोकेशले १८ बलमा ६६ रन बनाए । उनले दुई चौका पनि प्रहार गरेका थिए ।

नटआउट रहेका प्रदिपले ५३ बलमा ५७ रन बनाउदै ७ चौका र एक छक्का प्रहार गरे । आसिफले ४३ बलमा ८४ रन बनाए । उनको नाममा १० चौका र पाँच छक्का रह्यो ।

सुमित श्रेष्ठको बलमा स्टेडियम नै कटाउदै बिशाल छक्का प्रहार गरेका आसिफ अर्को बलमा अर्को ठूलो शट खेल्ने क्रममा आउट भएका थिए । खेल अवधिभर कुल २६ छक्का प्रहार भएको थियो ।

 

Click to comment

Trending