Headline

मास्क लगाएका दिपेन्द्र सामु बागमतीको आत्मसमर्पण

Published

on

दिपेन्द्र सिँह ऐरिले मास्क लगाएरै पाँच विकेट लिएपछि बागमती प्रदेश प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा फराकिलो हार व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा कोरोनालाई लिएर अत्यन्तै शतर्क देखिएका दिपेन्द्र लगातार दोश्रो खेल मास्क लगाएर खेले । मँगलवार ब्याटिँगमा नचलेका दिपेन्द्रले मास्क लगाएरै पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले बागमतीलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्यो ।

दिपेन्द्रले प्रतियोगितामा कुल ११ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा शिर्ष स्थानमा छन् ।

पहिलो ब्याटिँग गरेको पुलिसले आफ्ना दुई प्रमुख खेलाडी कुशल भुर्तेल र करण केसीलाई गुमाएपनि २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५५ रन बनायो । कप्तान ज्ञानेन्द्र मल्ललको विकेटसँगै कोल्याप्स भएको बागमती २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमै समेटियो ।

ओपनर इशान पाण्डेलाई ७ रन हुँदा गुमाएको बागमतीलाई ज्ञानेन्द्रले केही आकर्षक सटहरु खेल्दै बलियो पुलिसबिरुद्ध झिनो आशा जगाएका थिए । तर दिपेन्द्रले अनिल कुमार साहको हातबाट उनलाई क्याच आउट गराएपछि बागमतीको इनिङ्गस लड्खडाउन थाल्यो ।

दिपेन्द्रले त्यसपछिका चार र सागर ढकालले दुई विकेट लिएपछि बागमती खेलबाट पूर्ण रुपमा बाहिरिन पुग्यो । चार ओभरमा दिपेन्द्रले मात्र १० रन खर्चदै पाँच विकेट लिए । उनले मास्क लगाए देखि प्रतियोगितामा ७ विकेट लिइसकेका छन् ।

ज्ञानेन्द्रसँग दोश्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका आदिल खानले सर्वाधिक २७ रन बनाए । ३३ बलमा उनले तीन चौका प्रहार गरेका थिए । ज्ञानेन्द्रले १६ बलमा २३ रन बनाउदा चार चौका प्रहार गरे । रामनरेश गिरीले २५ बलमा २२ रन बनाउदा तीन चौका र रिजन ढकालले १७ बलमा १५ रन बनाए ।

रामनरेश र रिजनले नवौं विकेटका लागि ३६ रन जोडेका थिए ।

यसअघि दिपेन्द्रसहित पहिलो दुई विकेट २७ रनमा गुमाएको पुलिसलाई पवन शर्राफले सम्हालेका थिए । उनले तेश्रो विकेटका लागि अनिलसँग ७८ रनको साझेदारी गरेपछि पुलिसले १५ ओभरमा १ सय ५ रन बनाएको थियो ।

पवनले ५४ बलमा तीन छकका र तीन चौकाको मद्दतमा ५९ रन बनाए । अनिलले २४ बलमा २५ रन जोडे । दुवै ब्याट्स्म्यानलाई नन्दन यादवले तीन बलको अन्तरमा पेभिलियन फर्काएका थिए ।

दुई सेट ब्याट्स्म्यानको विकेट पतनपछि दिलिप नाथले छरितो इनिङ्गस खेल्दै १ सय ५० रनको आंकडा कटाएका थिए । दिलिपले १६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाए । आरिफ शेखले १२ रन जोडेका थिए ।
नन्दन बाहेक रिजन ढकालले पनि बागमतीका लागि दुई विकेट लिए ।

Click to comment

Trending