Headline

एएफसी कप क्वालिफायर: पहिलो चरणमा मच्छिन्द्रले श्रीलंकन टोलीसँग नेपालमै खेल्ने

Published

on

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शिर्ष स्थानमा बलियो पकड जमाएर बसेको डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप क्वालिफायरको आफ्नो पहिलो खेलमा श्रीलंकन टोली ब्लु स्टारबिरुद्ध खेल्ने भएको छ ।

खेल अप्रिल ५ मा दशरथ रँगशालामा हुने भएको छ । यस खेलको बिजेताले दोश्रो चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले जारी गरेको ड्र अनुसार मच्छिन्द्रले श्रीलंकन क्लबलाई प्रतिद्वन्दीको रुपमा पाएको हो । अखिल नेपाल फुटबल संघले ए डिभिजन लिगमा सातौं चरणको समाप्तिसम्ममा शिर्ष स्थानमा रहने टोलीले क्वालिफायरमा सहभागिता जनाउने निर्णय लिएको थियो ।

मच्छिन्द्रले नवौं चरणको समाप्तिसम्म नेपालको घरेलु लिगमा चार अंकको स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा छ ।

मच्छिन्द्र आफ्नो फुटबल इतिहासमै पहिलो पटक महादेशीय क्लब फुटबलको प्रतियोगिता खेल्न गइरहेको हो । यसअघिको संस्करणमा ए डिभिजन लिगको उपाधि जिते पनि क्लब लाइसेन्स नभएको कारण उसले सहभागिता जनाउन पाएको थिएन ।

मच्छिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएको थियो जहाँ उसले पहिलो चरणमा श्रीलंकन आर्मीलाई फराकिलो अन्तरले पराजित गरेको थियो भने दोश्रो चरणमा बैंगलुरु एफसीसँग नराम्ररी हारेको थियो ।

Click to comment

Trending