Headline

जापानी क्लबले स्पेन लेजेण्ड इनिएस्टाको प्रतिमा आफ्नो रंगशाला बाहिर राख्ने

Published

on

जापानको सबैभन्दा धनी क्लब भिसेल कोबेले आफ्नो स्टेडियममा स्पेन लेजेण्ड आन्द्रेस इनिएस्टाको प्रतिमा बनाउने भएको छ । तर यसको लागि क्लबले समर्थक र आम जनताबाट पैसा उठाउने अभियान शुरु गर्ने निर्णय लिएको छ ।

पुर्व बार्सिलोना लेजेण्ड २०१८ मा प्रति बर्ष ३० मिलियन डलरको सम्झौतामा कोबे गएका थिए । गत बर्ष नै ३७ बर्षिय इजिएस्टाले दुई बर्षको नयाँ सम्झौता गरेका हुन् । भिसेल कोबे जापानकै सबैभन्दा धनी व्यक्तिहरुको सुचीमा गनिने गरिएका टेक अरबपति हिरोशी मिकितानीको स्वामित्वमा रहेको छ ।

स्टेडियमबाहिर इनिएस्टाको प्रतिमा बनाउनका लागि कोबेले समर्थक र जनताबाट १५ मिलियन येन (१ लाख ३० हजार अमेरिकी डलर) उठाउने अभियान चलाउने भएको हो । आफ्नो स्टेडियमलाई जापानी फुटबलको पवित्र मैदान बनाउने भन्दै क्लबले समर्थकहरुलाई ११ सय देखि १ दशमलव १ मिलियन येन चन्दा दिन आग्रह गरेको छ ।

“इनिएस्टालाई जापानको खेलेको हेर्न पाउनु चमत्कार हो भन्ने तथ्यलाई बढाई चढाई गरिएको होइन,” कोबेको आधिकारिक वेबसाइटमा खोलिएको चन्दा संकलन पेजमा लेखिएको छ ।

प्रतिमा स्थापनाका लागि योगदान दिनेहरुलाई बिभिन्न सुविधा दिइने पनि क्लबले बताएको छ । यसमा इनिएस्टासँग फोटो खिच्ने देखि लिएर उनको प्रतिमामा उनको कस्तो पोज राखिनु पर्ने भन्ने बिषयमा भोट गर्न पाइने सम्म राखिएको छ ।

जापान आए यता इनिएस्टाले भरपुर लोकप्रियतमा रमाइरहेका छन् । बिश्लेषकहरुका अनुसार इनिएस्टाको आगमनसँगै जापानी घरेलु लिगमा टिकट बिक्री र रेभेन्युबाट १ सय मिलियन डलरभन्दा बढी उठिसकेको छ ।

उनी मोबाइल फोन देखि जापानी पेय पदार्थ साकेको बिज्ञापनहरुमा पनि निरन्तर देखिने गरेका छन् ।

यद्दपि इनिएस्टाले जापानी शिर्ष श्रेणीको फुटबल जे–लिगको उपाधि जित्न भने बाँकी नै रहेको छ । गत सिजनको तेश्रो स्थान उनको लागि जापानी घरेलु फुटबलको अहिलेसम्मकै ठूलो उपलब्धिको रुपमा रहेको छ ।

जे–लिग पहिलो पटक १९९३ मा शुरु हुँदा ब्राजिलियन लेजेण्ड जिकोले खेल्ने गरेको क्लब कासिमा एन्ट्लर्सले पनि आफ्नो स्टेडियम बाहिर उनको प्रतिमा राखेर सम्मान दिएको थियो ।

Click to comment

Trending