Headline

बिसिसिआईले कप्तानकै रुपमा बिदाई दिन खोज्दा कोहलीले मानेनन्

Published

on

टेस्ट टिमको कप्तानी पनि त्याग्दै क्रिकेट जगतलाई अचम्मित पारेका बिराट कोहली र भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सम्बन्धमा पछिल्लो समय तिक्तता बढ्दै आएको छ ।

ट्वान्टी ट्वान्टी कप्तानी छोड्दा आफूलाई बिसिसिआईले कुनै पनि समय निर्णयको पुनःबिचार गर्न आग्रह नरहेको भन्दै अध्यक्ष सौरभ गाँगुलीको बक्तब्यलाई झुठो साबित गरेका कोहलीलाई भारतीय क्रिकेट बोर्डले केही दिनअघि उनलाई एकदिवसीयको कप्तानबाट पनि हटाएको थियो ।

दक्षिण अफ्रिकाबिरुद्ध तीन म्याचको श्रृंखला २–१ ले गुमाएको एक दिन पछि नै कोहलीले सामाजिक सञ्जालमार्फत आफूले टेस्ट कप्तानी पनि छोडेको घोषणा गरेका थिए । उनले राजीनामा दिनुको कारणलाई लिएर धेरै अड्कलबाजी गरिए पनि हिन्दुस्तान टाइम्सको भर्खरै प्रकाशित एक रिपोर्टमा कोहली बिसिसिआईको बर्तमान नेतृत्वसँग वार्तालापको स्थिति मै नरहेको स्पष्ट पार्छ ।

रिपोर्टका अनुसार बिसिसिआईका एक बरिष्ठ पदाधिकारीले कोहलीलाई श्रीलंकाबिरुद्ध हुन गइरहेको टेस्ट श्रृंखलामा एक खेलमा कप्तानी दिदै बिदाई गर्ने प्रस्ताव राखेको थियो । तर उक्त प्रस्तावलाई अस्विकार गरेका थिए ।

“एउटा खेलले केही फरक हुँदैन । मैले यो खोजेकै होइन,” कोहलीले उक्त पदाधिकारीलाई जवाफ दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारत र श्रीलंकाबीचको टेस्ट श्रृंखला फेब्रुवरी २५ देखि बैंगलुरुमा शुरु हुन गइरहेको छ । पहिलो म्याच कोहलीको लागि करिअरको १ सयौं टेस्ट पनि हुनेछ ।

आफूले कप्तानी छोड्ने बिषयमा कोहलीले पहिलो पटक न्युल्याण्ड्सको ड्रेसिँग रुममा प्रशिक्षक राहुल द्रविड र टिम सदस्यहरुलाई भनेका थिए । त्यसपछि उनले बिसिसिआईलाई जानकारी गराएका थिए ।

Click to comment

Trending