Headline

सहज जितसँगै पुलिस प्रधानमन्त्री कपमा अपराजित

Published

on

बलरहरुले संयुक्त प्रदर्शन दिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लिग चरण अपराजित टोलीको रुपमा टुंग्याएको छ ।

पुलिसले सोमबार भएको अन्तिम लिग खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्यो । शनिबारका लागि तय भएको खेल प्रदेश १ का कप्तान सहित दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि सोमबारका लागि स्थगित गरिएको थियो ।

त्रिवि मैदानमा पहिलो ब्याटिँग गरेको प्रदेश १ लाई मिनास थापाले एक्लै अद्र्धशतक प्रहार गरेपछि २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रनको सानो योगफल बनायो । कुशल भुर्तेलले एक पटक फेरि आक्रमक इनिङ्गस खेलेपछि पुलिसले १३ दशमलव १ ओभरमै १ सय ५ रन जोडेको थियो ।

प्रतियोगितामा सर्वाधिक रन बटुल्ने खेलाडीहरुको सुचीमा शिर्ष स्थानमा पुग्ने क्रममा कुशलले २८ बलमै ४४ रन बनाएका थिए । उनले तीन छक्का र तीन चौका प्रहार गरे ।

कुशलले प्रतियोगिताका शुरुवाती चार खेलमै १ सय ८२ रन बनाएका छन् । दोश्रो स्थानमा लुम्बिनीका देव खनाल (१५८) र तेश्रो स्थानमा नेपाल एपिएफ क्लबका प्रदिप ऐरि (१४९) छन् । कुशलले पुलिस जित सहज बनाउने क्रममा तेश्रो विकेटका लागि अनिल साहसँग ५६ रनको साझेदारी गरेका थिए ।

अनिलले २४ बलमा २६ रन बनाए भने दिपेन्द्र सिँह ऐरिले १३ बलमा २० रन बनाएका थिए ।

यसअघि मिनासले प्रदेश १ को आधा भन्दा बढी रन बटुल्ने क्रममा ५९ बलमा ५९ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे । त्यसबाहेक सर्वन यादव (१०) दोहोरो अंकमा रन बटुल्ने एक मात्र ब्याट्स्म्यान रहे ।
पुलिसका लागि आरिफ शेख, कप्तान मञ्जित श्रेष्ठ र दिपेन्द्रले २–२ विकेट लिए ।

मँगलवार हुने सेमिफाइनलमा अब पुलिसले बागमती र नेपाल एपिएफ क्लबले आर्मीको सामना गर्नेछ  । फाइनल बुधबार हुनेछ ।

Click to comment

Trending