Headline

मोड्रिच र बेन्जेमाको गोलमा रियललाई सुपर कप

Published

on

लुका मोड्रिच र करिम बेन्जेमाले गोल गरेपछि रियल म्याड्रिड एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गर्दै १२ औं पटक स्पेनिस सुपर कप च्याम्पियन बनेको छ ।

साउदी अरेबियाको रियादमा भएको फाइनलमा बिल्बाओ पहिलो हाफमा स्पेनिस ला लिगाको शिर्ष टोलीलाई रोक्न सफल भएपनि दोश्रो हाफमा भने दुई गोल खान पुग्यो । रियलले कार्लो एन्सलोट्टी प्रशिक्षक नियुक्त भएको दोश्रो बर्षमा पहिलो उपाधि जितेको हो ।

बिल्बाओ ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै फाइनल पुगेपनि किँग फहिद स्टेडियममा भने संगठित रियलबिरुद्ध नीरिह साबित भएको थियो । रियलले पछिल्लो २० खेलहरुमध्ये मात्र एकमा हार व्यहोरेको छ जुन ला लिगामा गेटाफे बिरुद्ध थियो ।

८७ औं मिनेटमा खेलमा फर्किने आशा जागेपनि राउल गार्सियाले प्राप्त पेनाल्टी खेर फाल्दा रियलको जित सुनिश्चित बनेको थियो । एन्सलोट्टीको टोलीले अब बुधबार कोपा डेल रेको क्वार्टर–फाइनलमा एल्चेको सामना गर्नेछ भने अर्को महिना च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्माइनबिरुद्ध खेल्दैछ ।

“हामीलाई मात्र केही गर्ने इच्छाको आवश्यकता मात्रै रहेको छ । यसबाहेक हामीलाई अरु केही सोच्ने समय छैन किनभने अर्को प्रतियोगिता नजिकिदैछ,” एन्सलोट्टीले खेलपछि भने ।

मोड्रिचले आफ्नो लयलाई निरन्तरता दिदै गोल गरेपछि ३६ बर्षको उमेरमाा स्पेनिस सुपर कपमा गोल गर्ने उनी सबैभन्दा पाका खेलाडी बने । एन्सलोट्टीले रियलका लागि यो पाचौं उपाधि जितेका हुन् । उनले यसअघि च्याम्पियन्स लिग, युएफा सुपर कप, क्लब बिश्वकप र कोपा डेल रे जितिसकेका छन् ।

Click to comment

Trending