Headline

देव खनालको २१ बलमै अद्र्धशतक

Published

on

आफ्नो उच्च लयलाई निरन्तर कायम राख्दै देव खनालले २१ बलमै अद्र्धशतक बनाउदा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले अन्तरले पराजित गरेको छ ।

दुवै टोली यसअघि नै प्रतियोगिताको समुह बी बाट बाहिरिसकेका थिए । पहिलो ब्याटिँग गरेको गण्डकीका लागि अनिल गुरुङले छरितो अद्र्धशतक पुरा गरेपनि टोली १९ दशमलव १ ओभरमै १ सय ४ रनमा अल आउट हुन पुगेको थियो ।

अनिल खरेलले १९ औं ओभरमा तीन विकेट लिँदा गण्डकीले अन्तिम चार विकेट १० रनमै गुमाएको थियो । जवाफमा देवले प्रतियोगिताकै संयुक्त तिब्र गतिको अद्र्धशतक बनाएपछि लुम्बिनीले १३ दशमलव १ ओभरमा जित हात पार्यो ।

यसअघि नेपाल पुलिस क्लबले कुशल भुर्तेलले पनि कर्णाली प्रदेशबिरुद्ध २१ बलमै अद्र्धशतक बनाएका थिए । ओपनर सौरभ खनाल एक पटक फेरि सस्तैमा पेभिलियन फर्किएपछि देवले लुम्बिनीको इनिङ्गसलाई गति दिएका थिए ।

उनले दोश्रो विकेटका लागि सुशान्त सिँह थापासँग ७२ रनको साझेदारी गरे । २६ बलमा ५६ रन बनाएका देव स्पिनर बिशाल पौडेलेको बलमा ठूलो शट खेल्न अघि बढ्दा स्टम्पिँग भएका थिए ।

प्रतियोगितामा दुई अद्र्धशतक प्रहार गरेका देवले चार म्याचमा १ सय ५८ रन जोड्दै प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा उक्लिए ।

सुशान्तले ३५ बलमा दुई चौकाको मद्दतमा २२ रन बनाए । गण्डकीका लागि सुभाष भण्डारीले चार ओभरमा २१ रन खर्चदै तीन विकेट लिए ।

यसअघि अनिलले गण्डकीको ब्याटिँगलाई सम्हाल्दै तीन अंकको योगफल कटाउन प्रमुख भुमिका खेले । तिब्र गतिका बलर दुर्गेश गुप्तालाई दुई चौका र एक छक्का प्रहार गर्दै अद्र्धशतक पुरा गरे लगत्तै उनी आउट भएका थिए ।

अनिलले ३९ बलमा ५० रन बनाएका थिए । उनको इनिङ्गसमा पाँच चौका र दुई छक्का सामेल थियो । उनले १६ रन बनाएका बिशालसँग ३४ रनको पार्टनरसिप गरे । लुम्बिनीका लागि एक पटक फेरि अनिल खरेलले चार विकेटको प्रदर्शन गरे ।

अनिलले चार ओभरमा १५ रन खर्चदै चार विकेट लिएका थिए । प्रदेश २ बिरुद्ध पनि चार विकेट लिएका अनिलको प्रतियोगितामा विकेट संख्या १० पुग्यो । उनी बढी विकेट लिने खेलाडीको सुचीमा शिर्ष स्थानमा छन् ।

Click to comment

Trending