Headline

इटालीमा फ्लप तर प्रिमियर लिगमा स्टार भएका चर्चित खेलाडीहरु

Published

on

इटालियन सिरी आ लाई सबैभन्दा गाह्रो र प्रतिस्पर्धात्मक लिगका रुपमा लिइने गरिन्छ । पछिल्लो समय रोमेलु लुकाकु, एस्ली योङ र क्रिस स्मलिङ जस्ता खेलाडीहरुले पनि सिरी आ मा खासै उल्लेख्य प्रदर्शन गर्न नसक्दा आफ्नो बसाई अन्त्य गरेका थिए ।

सिरी आ मा फ्लप भएका खेलाडीहरु इंगलिस प्रिमियर लिगमा भने स्टारका रुपमा स्थापित भएका छन् । हेरौं ६ खेलाडीहरु जो सिरी आ मा छाप छोड्न नसके पनि प्रिमियर लिगमा भने स्टारको रुपमा रहेका थिए ।

डेनिस बर्गक्याम्प

आर्सनलका चर्चित अनुहार डेनिस बर्गक्याम्प ९० को दशकको शुरुवातमा डच क्लब आयाक्स मात्र नभएर पुरै युरोपका उत्कृष्ट खेलाडीमा पर्दथे । उनको उत्कृष्ट खेल देखेर नै उनलाई सिरी आ क्लब इन्टर मिलानले १९९३ मा ७ दशमलब १ मिलियन पाउण्ड खर्चिएर आफ्नो क्लबमा आबद्ध गर्यो ।

तर दुखको कुरा बर्गक्याम्प सिरी आ मा फिक्का साबित भए । आयाक्सको लागि १ सय ८५ खेलमा १ सय ३ गोल गरेका बर्गक्याम्पले इन्टरबाट ५२ खेल खेल्दा ११ गोल मात्र गर्न सके । इटालीमा उनी कसैको अपेक्षामा खरो उत्रन सकेनन् ।

सिरी आ मा राम्रो प्रदर्शन गर्न नसके पछि उनलाई इन्टरले १९९५ मा ७ दशमलब ५ मिलियनमा आर्सनललाई बेच्यो । १९९५ देखि २००६ सम्म करिब ११ वर्ष आर्सनलमा बिताएका बर्गक्याम्पले गनर्सको लागि ३१५ खेलमा ८७ गोल गरे । खेल अनुसार गोल थोरै भएपनि उनी आर्सनलले तीन प्रिमियर लिग चार एफए कप उपाधि जित्दाका प्रमुख खेलाडी रहे ।

डेस वाकर

नट्टींघम फरेस्ट, शेफिल्ड वेन्स्डे र इंग्ल्यान्डको लागि चट्टान जस्तै डिफेन्स गर्न सक्ने छाप बनाएका डिफेन्डर हुन् डेस वाकर । वाकरलाई खेल बुझ्न सक्ने उत्कृष्ट खेलाडी, हेडिङमा माहिर, निकै चुस्त र तिब्र, उत्कृष्ट ट्याकलर र बिपक्षी फरवार्डको लागि टाउको दुखाईको रुपमा लिइन्थ्यो ।

डिफेन्स किङका नामले परिचित वाकरको जादु इटालियन सिरी आ मा पुगे पछि एकाएक गायब हुन थाल्यो । जे सोचेर साम्पडोरियले १ दशमलब ५ मिलियन पाउण्ड खर्च गरेर साम्पडोरियाले उनलाई क्लबमा आबद्द गर्यो त्यो कहिल्यै पुरा हुन सकेन । एक सिजन र ३० खेल पछि वाकर पुन इंगल्यान्ड नै फर्किए ।

इयान रश

आफ्नो व्यवसायिक खेल जीवनमा दुई पटक गरेर ३ सय ४६ गोल गरेका इयान रश लिभरपुलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । तर बीचमा इटालियन सिरी आ क्लब युभेन्टसका लागि खेलेका रशको इटली बसाई भने बिर्सनलायक थियो ।

सन् १९८७–८८ को सिजन युभेन्टस पुगेका रशले २९ खेलमा मात्र ७ गोल गर्न सके । उनले इटालीको कसिलो डिफेन्सलाई तोड्न सकेनन् र खराब प्रदर्शनका कारण एक सिजन मात्र इटालीमा बिताए ।

आरोन रामसे

वेल्स मिडफिल्डर आरोन रामसे २०१९ मा युभेन्टसमा पुगे पछि प्रति हप्ता ४ लाख पाउण्ड तलब थाप्ने गरेका छन् । मोटै रकम लिएका रामसे क्लबमा भने खासै प्रभावित पार्न सकेका छैनन् ।

कहिले चोट त कहिले खराब फर्म । टुरिन पुगे पछि उनले ६ गोल मात्र गर्न सकेका छन्, त्यो पनि तीन सिजनमा गरेर ।

इटालियन सिरी आ पुग्नु अघि उनले आर्सनलका लागि भने राम्रो प्रदर्शन गरेका थिए । आर्सनलको तर्फबाट भने उनले ६४ गोल गरेका थिए । सिरी आ मा आफ्नो छाप छाड्न असफल भए पछि पछिल्लो समय उनी फेरी प्रिमियर लिग फर्कने चर्चा चलेको छ ।

फिलिप्पे काउटिन्हो

जब ब्राजिलका फिलिप्पे काउटिन्हो इंगलिस प्रिमियर लिग क्लब लिभरपुलमा थिए तब उनी इंग्ल्यान्डमा सबैभन्दा उत्कृष्ट मिडफिल्डरमा गनिन्थे । उनी विरुद्ध खेल्नु कुनै पनि विपक्षीको लागि डरलाग्दो सपना जस्तै हुन्थ्यो ।

उनको गोल, खेल्ने शैली, क्षमताले गर्दा काउटिन्होलाई लिभरपुलबाट स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आबद्ध गराउन १ सय ४२ मिलियन पाउण्ड खर्चिएको थियो ।

तर जुन समय लिभरपुलले ८ दशमलब पाँच मिलियन पाउण्ड खर्चदै काउटिन्होलाई इटालीबाट एनफिल्डमा भित्रायो त्यस समयमा उनी तथ्यांक अनुसार त्यो स्तरका खेलाडी थिएनन् । सिरी आ क्लब इन्टरको सुरुवाती ११ मा पनि आफ्नो स्थान बनाउन संघर्षरत काउटिन्होले एक सिजन इस्पान्योलको लागि पनि खेले ।

२०१३ मा काउटिन्हो एनफिल्ड गएपछि भने सबै इतिहास बन्न पुग्यो

थिएरी अन्री

फ्रान्सका थिएरी अन्री इंगलिस प्रिमियर लिग क्लब आर्सनलका सर्वाधिक गोलकर्ता हुन् । उनले आफ्नो खेल जीवनको उत्कृष्ट वर्षहरु नर्थ लण्डन क्लबमा बिताएका थिए ।

प्रिमियर लिगमा आफ्नो खेल कौशलले सबैलाई मोहित पार्न सफल भएका विश्वकप विजेता अन्रीले इटालियन सिरी आ क्लब युभेन्टसमा भने आफ्नो छाप छाड्न सकेनन् । मोनाकोबाट १० दशमलब ५ मिलियनमा युभेन्टस गएका उनले ओल्ड लेडि अफ टुरिनका लागि १९ खेल खेल्दै मात्र ९ गोल गर्न सकेका थिए ।

अनरीले खेल जीवनमा धेरै पोजिसनमा खेले । कहिले विङ ब्याक त कहिले मिडफिल्ड । तर जब अन्री आर्सनल आए व्यवस्थापक आर्सन वेंगरले उनको क्षमताको पूर्ण सदुपयोग गर्दै उनलाई आफ्नो समयको उत्कृष्ट फरवार्डमा परिणत गर्दिए ।

Click to comment

Trending