Headline

बिमल चम्किएपछि मच्छिन्द्रलाई लिगमा चार अंकको स्पष्ट अग्रता

Published

on

बिमल घर्ती मगरले दुई गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा चार अंकको स्पष्ट अग्रता लिएको छ ।

दशरथ रँगशालामा भएको खेलमा दोश्रो हाफको उत्कृष्ट प्रदर्शनमा मच्छिन्द्रले ब्रिगेड बोइज क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै मच्छिन्द्रले २३ अंकका साथ दोश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबसँग चार अंकको अग्रता बनाएको हो ।

तेश्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको १७ र चौथो स्थानको थ्रि स्टार क्लबको १६ अंक छ । पाचौं हार व्यहोरेको ब्रिगेडलाई रेलिगेसन जोगाउन भने थप कसरत गर्नु पर्ने भएको छ ।

पुछारबाट तेश्रोमा रहेको ब्रिगेडको ६, रेलिगेसन जोनमा रहेको च्यासलको पाँच र फ्रेण्ड्स क्लबको तीन अंक रहेको छ । यस्तै नेपाल पुलिस क्लबको ७ अंक रहेको छ ।

२४ औं मिनेटमा मच्छिन्द्रले पहिलो मौका गुमायो । कर्नरबाट आएको बलमा भिडम भाड रहेको ब्रिगेडको सिक्स यार्ड बक्समा सुजल श्रेष्ठको प्रहारलाई गोलकिपर गुरप्रितले छेकेका थिए । खतरा कायमै रहँदा दिवाकर चौधरीले बललाई क्लियर गरेका थिए ।

चार मिनेटपछि रञ्जत धिमालको कर्नरमा नुर्लानको हेडर बाहिरिन पुगेको थियो । ४४ औं मिनेटमा सुनिल बलको लामो दुरीको सशक्त प्रहारलाई गुरप्रितले डाइभ गर्दै उत्तिकै उत्कृष्ट ढँगले बचाउ गरेका थिए ।

५६ औं मिनेटमा मच्छिन्द्रले लोभलाग्दो टिम गोल गर्दै अग्रता पायो । बिशाल राईले मिडफिल्डबाट निकालेको बलमा गुरप्रित अगाडी बढ्दा छिरिङ गुरुङले सिक्स यार्ड बक्समा कटब्याक गरेपछि डिफेन्डरको दवाबकाबीच रेजिन सुब्बाको भलि मार्फत आएको हाइ बलमा बिमलले सहज हेडरमार्फत खाली पोस्टमै गोल गरेका थिए ।

पाँच मिनेटपछि नै बिमलले अग्रतालाई दोब्बर गर्दै प्रतियोगितामा तेश्रो गोल गरे । मच्छिन्द्रको डिफेन्सबाट आएको लँग पासमा ब्रिगेड डिफेन्डरको चुनौतिलाई पछाडी पार्दै बिमलले गुरप्रितसँग वान भर्सेस वानको स्थितिमा गोल गरेका थिए ।

८४ औं मिनेटमा बिमलकै असिस्टमा मच्छिन्द्रले जित सुनिश्चित गर्यो । ब्रिगेडको मिडफिल्डमा पाएको बललाई अगाडी लिएर गएका बिमलले निस्वार्थ रुपमा पास दिएपछि रेजिनले गोल गरेका थिए । इन्जुरी समयमा अभिषेक रिजालले आफ्नो लिगको पहिलो गोल गर्न सफल भए ।

Click to comment

Trending