Headline

राजुले आकर्षक इनिङ्गस खेल्दै पुर्याए आफ्नो पुर्व क्लब आर्मीलाई सेमिफाइनलमा

Published

on

पुर्व त्रिभवुन आर्मी क्लब खेलाडी राजु रिजालले सुदुर पश्चिमका लागि प्रधानमन्त्री कपमा पाएको एक मात्र मौकामा आकर्षक इनिङ्गस खेल्दै आफ्नो पुरानो क्लबलाई सेमिफाइनलमा प्रवेश गराएका छन् ।

आइतबार त्रिवि मैदानमा जित्नै पर्ने खेलमा कप्तान सिद्धान्त लोहनी सहित दुई खेलाडी कोरोनाका कारण गुमाएको प्रदेश १ सुदुर पश्चिमसँग ७ विकेटले पराजित गर्यो । प्रदेश १ ले अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग सोमबार खेल्दैछ तर उक्त खेलको कुनै औचित्य रहने छैन ।

आर्मी छोडेर आफ्नै प्रदेशमा लागेपछि पर्याप्त कागज पत्रको अभावमा शुरुको तीन खेल गुमाएका राजुले कप्तान सन्तोष भट्टसँग नयाँ जोडी बनाउदै बिशाल साझेदारी गरे । पहिलो ब्याटिङ्ग गरेको प्रदेश १ ले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५८ रन बनायो ।

जवाफमा राजु र सन्तोषले पहिलो विकेटका लागि ९८ रनको बिशाल साझेदारी गरेपछि सुदुर पश्चिमले १९ दशमलव १ ओभरमा तीन विकेटको क्षतिमा जित हात पार्यो । सुदुर भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

सुदुरको जितसँगै ५ अंक रहेको आर्मी समुह ए को उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो । सुदुर पराजित भएको खण्डमा प्रदेश १ र आर्मीबीचको निर्णय सोमबारको खेलले निर्णय गर्ने थियो ।

राजुले ५२ बलमा ९ चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । सन्तोष ३९ बलमा ४८ रन बनाउदै आउट भए । उनको इनिङ्गसमा चार चौका र तीन छक्का सामेल थियो । राजुले खडक बोहोरा (८) सँग साझेदारी गरेपछि सुदुरले दुवै ब्याट्स्म्यानलाई गुमाएको थियो ।

अर्जुन साउदले ११ बलमा २६ रनको महत्वपूर्ण इनिङ्गस खेल्दै सुदुरको जित सुनिश्चित गरेका थिए । अर्जुनले तीन चौका र एक छक्का प्रहार गरे ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको प्रदेश १ ले पावरप्लेको समाप्तिमा ६० रन जोडिसकेको थियो । उसको लागि मुकुन्द यादवले २७ बलमा ३४ र सोनु अन्सारीले २६ बलमा ३१ रन बनाए । दुवैले चार चौका र एक छक्का प्रहार गरे ।

दुई ओपनर मिनास थापा र अंकित सुबेदीले समान २३ रन बनाए । सुदुर पश्चिमका लागि हेमन्त धामी र नारायण जोशीले २–२ विकेट लिए ।

Click to comment

Trending