Headline

टेस्टको पनि कप्तानी छोडे बिराट कोहलीले

Published

on

ट्वान्टी ट्वान्टीको कप्तानी छोड्नुका साथै एकदिवसीयको कप्तानी गुमाइसकेका बिराट कोहलीले भारतको टेस्ट टिमको कप्तानीबाट पनि राजीनामा दिएका छन् ।

भारत दक्षिण अफ्रिकाबिरुद्धको तीन म्याचको टेस्ट श्रृंखलामा पराजित भए लगत्तै कोहलीले टेस्टको कप्तानी पद पनि छाडेका हुन् । आफ्नो इन्स्टाग्राम पेज मार्फत कोहलीले टेस्टको कप्तानीबाट पनि राजनीमा दिएको जानकारी दिएका हुन् ।

“कुनै स्टेजमा गएर हरेक कुरामा पूर्णबिराम लाग्छ र भारतको टेस्ट कप्तानको रुपमा त्यो स्टेज मेरो लागि अहिले हो । मैले सबै कुरामा आफ्नो १ सय २० प्रतिशत दिदै आएको छु र यदि म यसमा चुक्छु भने मैले यही गरिराख्नु पर्छ भन्ने छैन,” कोहलीले पोस्ट मार्फत लेखेका छन् ।

“म यस बिषयमा निकै स्पष्ट छु र टिमसँग म बेइमानी गर्न सक्दिन । यति लामो समयको लागि मलाई यो भुमिका निर्वाह गर्न दिएकोमा म बिसिसिआईलाई धन्यबाद दिन चाहन्छु । अन्त्यमा मलाई कप्तानको रुपमा बिश्वास गरेका एमएस धोनीलाई सबैभन्दा ठूलो धन्यवाद दिन्छु,” कोहलीले भनेका छन् ।

कोहलीले पहिलो पटक अष्ट्रेलियाबिरुद्ध २०१४ को टेस्ट श्रृंखलामा कप्तानी गरेका थिए । २०१४ देखि २०२२ सम्म आफूले नेतृत्व गरेका ६८ टेस्टमा कोहलीले ४० मा जित हात पारेका छन् । ५८ दशमलव ८२ प्रतिशत जित औषत रहेका कोहली भारतको सबैभन्दा सफल टेस्ट कप्तानको रुपमा रहन पुगे ।

Click to comment

Trending