Headline

अन्तिम मिनेटको गोलले थ्रि स्टारको संकटामाथि रोचक जित

Published

on

सुपर सब बिजय भुजेलले खेलको अन्तिम मिनेटमा गोल गरेपछि थ्रि स्टार क्लबले संकटा क्लबको अपराजित यात्रालाई टुँग्याउदै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा रोचक जित हात पारेको छ ।

दशरथ रँगशालामा बराबरीतर्फ टुँगिने लगभग तय भएको खेलमा बिजयले ९८ औं मिनेटमा गोल गर्दै थ्रि स्टारले महत्वपूर्ण जित हात पार्यो । जितसँगै थ्रि स्टार १६ अंक सहित लिगको चौथो स्थानमा उक्लिएको छ ।

शनिबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई ३–१ ले पराजित गरेको आर्मी १७ अंक सहित तेश्रो स्थानमा रहेको छ भने नवौं खेलमा आएर पहिलो हार व्यहोरेको संकटा १४ अंक सहित पाचौं स्थानमा छ ।

शिर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबले आफ्नो नवौं चरणको खेलमा आइतबार ब्रिगेड बोइज बिरुद्ध खेल्नेछ । मनाङ मस्र्याङ्गदी क्लबको १९ अंक छ । एक खेलमा हातमै रहेको मच्छिन्द्र एक अंकको अग्रतामा छ ।

खेलमा थप गरिएको ७ मिनेटको इन्जुरी समय सक्किन केही सेकेण्ड अघि थ्रि स्टारले फ्रि किक पायो । क्विक फ्रि–किकमा मिडफिल्डबाट आएको बललाई संकटा गोलकिपरले ग्रिप गर्न नसकेपछि रफाइल रिमगागोले बल पाए ।

रिमगागोले सिक्स यार्ड बक्स अगाडी निकालेको बलमा बिजयले ट्याप गर्दै थ्रि स्टारलाई जित दिलाए ।

यसअघि ३३ औं मिनेटमा थ्रि स्टारलाई गोलकिपर प्रिस्सोले बचाए । लक्ष्मण रुचालको हेडरमा ग्लोरीले टर्न गर्दै गरेको प्रहारलाई प्रिस्सोले बचाएका थिए ।

पहिलो हाफ सकिनु अघि थ्रि स्टारले सुनौलो अवसर गुमायो । निशान खड्काको हाइ क्रसमा संकटाको सिक्स यार्ड बक्समा रहेका सन्जोग राईको हाफ भलि आकाशिन पुग्यो ।

Click to comment

Trending