Headline

बिपिनको अलराउण्ड प्रदर्शनमा बागमती प्रधानमन्त्री कपको सेमिफाइनलमा

Published

on

ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमती प्रदेश प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिवि मैदानमा भएको एक मात्र खेलमा बिपिन आचार्यले अलराउण्ड प्रदर्शन गरेपछि बागमतीले जित्नै पर्ने खेलमा गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै समुह बी को उपबिजेताको रुपमा अन्तिम चार प्रवेश गर्यो । एपिएफ चारवटै खेल जित्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।

बागमतीले अब सेमिफाइनल प्रतियोगितामै सशक्त प्रदर्शन गर्दै आइरहेको नेपाल पुलिस क्लबबिरुद्ध खेल्नेछ । समुह ए मा एक खेल बाकीँ रहदै शिर्ष स्थान पक्का गरेको पुलिस अपराजित रहेको छ ।

बागमतीको जितसँगै समुह बी बाट लुम्बिनी र गण्डकी एक खेल बाकी रहदै बाहिरिएका छन् ।

टस जिती पहिलो ब्याटिँग गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४३ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो । सुस्त शुरुवात गरेको गण्डकी पहिलो ११ ओभरमा ४० रन पनि जोड्न नसक्दा दवाबमा रहन पुग्यो । उसले २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय ३ रन बनायो ।

पहिलो विकेटका लागि अनिल गुरुङ र अर्जुन कुमालले २४ रन जोडेपछि बिपिनले दुवै ब्याट्स्म्यानलाई लगातार पेभिलियन फर्काएका थिए । सुभाष खत्रीले थप दुई विकेट लिँदा गण्डकीले १३ ओभरमा ६५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो ।

त्यसपछि गण्डकीको लागि खेलमा फर्कने अवसर रहेन । बिपिनले चार ओभरमा १९ रन खर्चदै २ विकेट लिए भने प्रतिसले एक विकेट हात पार्दा २२ रन खर्चिए । नन्दन यादवले पनि दुई विकेट लिएका थिए । गण्डकीका लागि कमल परियारले सर्वाधिक ११ रन बनाए ।

यसअघि प्रतिस जिसीले एक पटक फेरि छरितो इनिङ्गस खेलेपछि बागमतीको योगफल १ सय ५० नजिक पुगेको थियो । शुक्रबार प्रदेश २ बिरुद्धको रोमाञ्चक जितमा पनि ७ बलमा नटआउट २८ रन बनाएका प्रतिसले शनिबार ८ बलमा २८ रन जोडेका थियो । उनले तीन छक्का र दुई चौका प्रहार गरे ।

बिपिनले १९ बलमा तीन चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए भने ओपनर सुभाष खकुरेलले ३० बलमा २७ रन जोडेका थिए । उनको इनिङ्गसमा दुई चौका र एक छक्का सामेल थियो । प्रतिस आउट भएपछि बागमतीले अन्तिम ओभरमा मात्र दुई रन जोडेको थियो ।

Click to comment

Trending