Headline

जगजितको उत्कृष्ट प्रदर्शनमा आर्मीको महत्वपूर्ण जित

Published

on

जगजित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि फ्रेण्ड्स क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दौडमा कायमै रहेको छ ।

आर्मीले रेलिगेसनबाट जोगिन संघर्षरत फ्रेण्ड्स क्लबलाई ३–१ ले पराजित गर्दा तीनै गोलमा जगजितको संलग्नता रह्यो । जितसँगै आर्मी १८ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।

२० अंकका साथ मच्छिन्द्र फुटबल क्लब शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा रहेको मनाङ मस्र्याङ्गदी क्लबको १९ अंक छ । मनाङ शुक्रबारको खेलमा सातदोबाटो युथ क्लबलसँग स्तब्ध भएको थियो ।

हारपछि फ्रेण्ड्समाथि रेलिगेसनको खतरा थप बढेको छ । ९ खेलबाट मात्र तीन अंकका साथ पुछारमा रहेको फ्रेण्ड्सलाई अब बाँकी रहेका सबै चार खेल जित्नै पर्ने दवाब बढेको छ । च्यासल युथ क्लबको ८ खेलबाट पाँच अंक छ ।

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टोलीको क्याम्पमा स्थान दिएका जगजितले नवौं मिनेटमै आर्मीलाई अग्रता दिलाएका थिए । बायाँबाट जगजितले निकालेको क्रस फार पोस्टमा ठोक्किदै गोलमा परिणत भएको थियो । त्यसपछि आर्मीले निरन्तर मौका बनाएपनि फ्रेण्ड्सले खतरा टारेको थियो ।

३४ औं मिनेटमा गोलकिपर बिकेश कुथुले आर्मीलाई गोल खानबाट बचाए । एन्थोनी गार्सियाको क्रसमा बनेको मुभमा बिकेशले सिक्स यार्ड बक्स भित्रबाट भएका दुई प्रहारमा जमाल फ्रान्सिस र एन्थोनी पलको प्रहारलाई रोकेका थिए ।

आर्मीको दोश्रो गोलमा पनि जगजितकै संलग्नता रह्यो । ४५ औं मिनेटमा आर्मीले दवाब बनाउदै गर्दा जगजितले बायाँ तर्फको कर्नर फ्ल्यागबाट बक्समा निकालेको बललाई फ्रेण्ड्सको डिफेन्सले क्लियर गर्न असफल रह्यो । जर्ज प्रिन्स कार्कीले हेडरमार्फत निकालेको बलमा दिनेश हेन्जनले हाफ भलिमा फस्र्ट टाइम प्रहार गर्दै गोल गरेका थिए ।

दोश्रो हाफको शुरुवातमै फ्रेण्ड्सले जवाफमा फर्कायो । युद्ध शाहीको कमजोर ब्याकपासलाई बिकेशले स्लाइड दिएर पनि भेट्टाउन नसक्दा प्रजेन तामाङले पेनाल्टी स्पट अगाडी निकालेको पासलाई फ्रान्सिसले खाली पोस्टमा गोल गरेका थिए ।

७२ औं मिनेटमा आर्मीले खेललाई पूर्ण रुपमा आफ्नो पक्षमा पार्यो । यस पटक फेरि जगजित गोलमा संलग्न रहे । जगजितकै कर्नरमा राम्रो जजमेन्ट गर्दै सुमन अर्यालले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

Click to comment

Trending