Headline

मनाङलाई स्तब्ध पार्दै सातदोबाटोले मच्चायो लिगकै ठूलो सनसनी

Published

on

८ पटकको किर्तिमानी बिजेता र उपाधिको प्रबल दाबेदार मनाङ्ग मस्र्याङ्गदी क्लबलाई पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अर्को सनसनी मच्चाएको छ ।

दशरथ रँगशालामा फ्लड लाइट मुनि मार्टिन सिलो र अजयी मार्टिन्स कायोडाीले गोल गरेपछि सातदोबाटोले मनाङलाई २–१ ले स्तब्ध पार्यो । ओलादिपो ओलावाले अफिजले दोश्रो हाफमा गोल फर्काएपनि सातदोबाटोले मनाङलाई पाखा लगाइ छाड्यो ।

जारी लिगमा पहिलो पटक शिर्ष श्रेणीको फुटबल खेलिरहेको सातदोबाटोले तेश्रो पटक ठूलो टिमलाई आफ्नो शिकार बनाएको हो । मनाङबिरुद्धको जित भने उसको लागि अहिलेसम्मकै ठूलो नतिजाको रुपमा रहनेछ ।

सातदोबाटोले यसअघि थ्रि स्टार क्लबलाई १–० ले पराजित गरेको थियो भने अर्को उपाधिको दाबेदार त्रिभुवन आर्मी क्लबसँग १–१ गोलको बराबरी गरेको थियो ।

यस्तै उसले अर्को बिभागीय टोली नेपाल एपिएफ क्लबलाई ४–१ हराएको थियो ।

हारसँगै मनाङ शिर्ष स्थानमा अग्रता लिन चुकेको छ । अर्को खेलमा डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले ब्रिगेड बोइज क्लबलाई हराउने हो भने मनाङ चार अंकले पछि पर्नेछ । मच्छिन्द्रको २० अंक रहेको छ ।

प्रतियोगितामा तेश्रो जित हात पारेको सातदोबाटो भने १२ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ ।

अपेक्षा बिपरित सातदोबाटोले पहिलो हाफमा मनाङलाई पूर्ण रुपमा दवाबमा राखेको थियो । ११ औं मिनेटमै सातदोबाटोले अग्रता लिदै मनाङलाई झड्का दिएको थियो । कर्नरमा आएको बलमा सुदिप गुरुङले हेडरमार्फत मिलाइदिएको बलमै सिलोले हेड गर्दा मनाङ डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

३५ औं मिनेटमा निरज चौधरीले २२ यार्डबाट गरेको प्रहार मनाङ गोलकिपर बिशाल सुनारलाई बिट गरेपनि क्रसबारमा लागेर फर्किएको थियो । सेन्टर लाइनबाट सुदिप गुरुङले दिएको उत्कृष्ट थ्रेडिङ्ग पासलाई कलेक्ट गर्दै प्रशान्त अवस्थीले क्रस निकालेपछि अजयी मार्टिन्सले हेडरमार्फत सहज गोल गरेका थिए ।

पहिलो हाफ सकिनु अघि अञ्जन बिष्टको कर्लिङ्ग प्रहारलाई सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट ढँगले बाहिर पठाइदिएका थिए । पुजन उपरकोटीले लिएको कर्नरमा सातदोबाटो डिफेन्सले मनाङलाई अवसर दिएन ।

मनाङले ५७ औं मिनेटमा अग्रतालाई घटाउदै खेलमा पुनरागमन गरेको थियो । पुजन उपरकोटीको कर्नरलाई सातदोबाटोले क्लियर गर्न नसकेपछि ओलादिपो ओलावाले अफिजले सिक्स यार्ड बक्सको लाइन नजिकबाटै गोल गर्न सफल भएका थिए ।

ओलावाले लिगमा सर्वाधिक गोल गर्ने खेलाडीहरुको सुचीमा ६ गोलसहित शिर्ष स्थानमा रहेका छन् । उनले गत साता च्यासलबिरुद्ध पोखरामा मनाङले हात पारेको ५–० को फराकिलो जितमा ह्याट्रिक पुरा गरेका थिए । ५ गोलसहित दोश्रो स्थानमा मच्छिन्द्र फुटबल क्लबका सुनिल बल र सातदाबोटोका अजयी मार्टिन्स रहेका छन् ।

६३ औं मिनेटमा सातदोबाटोले दुई गोलको अग्रता फर्काउने सुनौलो अवसर गुमायो । प्रशान्त अवस्थीले लोभलाग्दो ड्रिब्लिङ्ग गर्दै डि बक्सभित्र छिर्दै निकालेको पासमा आकाश बुढामगर सामान्य ट्याप इन गर्न चुकेका थिए ।

६९ औं मिनेटमा दिपक सिँह ठकुरीले बिशालसँग वान भर्सेस वान स्थितिमा गोल गर्न असफल रहेका थिए ।

Click to comment

Trending