Headline

बागमतीको रोमाञ्चक जितमा प्रतिस नायक

Published

on

प्रतिस जिसीले ७ बलमै २२ रन ठोकेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई पाँच विकेटले पराजित गर्दैै सेमिफाइनल सम्भावनालाई प्रबल बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको दोश्रो खेलमा पहिलो ब्याटिङ्ग गरेको प्रदेश २ ले ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । प्रतियोगितामा दोश्रो जित हात पार्ने क्रममा बागमतीले दुई बल बाँकी छदा लक्ष्य पुरा गर्यो ।

बागमतीको जितमा प्रतिसको छोटो इनिङ्गस महत्वपूर्ण रह्यो । अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा प्रतिसले बिबेक यादवलाई पहिलो बलमै छक्का प्रहार गर्दै बागमतीको जित लगभग पक्का गरेका थिए । १५ बलमा ३१ रन चाहिँदा प्रतिसले बिबेकलाई नै दुई छक्का प्रहार गरेका थिए ।

अर्को एन्डमा नन्दन यादव १० बलमा १५ रन बनाई नटआउट रहे । बागमतीलाई खेलमा कायमै राख्ने क्रममा इशान पाण्डे र पहिलो पटक राष्ट्रिय क्रिकेट खेलिरहेका लक्की कठायतले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

इशानले सर्वाधिक रन बटुल्ने क्रममा ३१ बलमा ३२ रन जोडे । उनको इनिङ्गसमा दुई चौका र एक छक्का सामेल थियो । लक्कीले २६ बलमा रन बनाउदा चार चौका प्रहार गरे । सुभाष खकुरेलले ९ बलमा २० रन बनाएका थिए ।

जितेन्द्र यादवले प्रदेश २ का लागि दुई विकेट लिएका थिए ।

पहिलो ब्याटिङ्ग गरेको प्रदेश २ ले ओपनर हरि शंकर साहको अद्र्धशतकको मद्दतमा १ सय ५० रनको आँकडा पार गर्न सकेको थियो । हरिले पहिलो विकेटका लागि सन्तोष कार्की (१०) सँग ४० रन जोडेका थिए ।

सुरज पटेल र बिशाल सुश्लिँगलाई सस्तैमा गुमाएपछि उनले चौथो विकेटको लागि बिबेक यादवसँग ४३ रन जोडे । आफ्नो आक्रमक प्रकृतिमै खेल्दै बिबेकले १७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै २८ रन बनाए ।

हरिले ५४ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । कप्तान हसिम अन्सारीले १७ बलको इनिङ्गसमा तीन छक्का प्रहार गर्दै नटआउट २६ रन बनाए । बागमतीका लागि बिपिन आचार्य र रिजन ढकालले २–२ विकेट हात पारे ।

Click to comment

Trending