Headline

शाहबले अन्तिम बलमा छक्का प्रहार गरेपछि आर्मीको रोमाञ्चक जित

Published

on

शाहब आलमले अन्तिम बलमा छक्का प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावनालाई थप मजबुत बनायो ।

मुलपानी क्रिकेट मैदानमा भएको चुनौतिपूर्ण खेलमा आर्मीले सुदुर पश्चिम प्रदेशलाई अन्तिम बलमा हराउदै तीन विकेटको रोमाञ्चक जित हात पारेको हो । पहिलो ब्याटिँग गर्दै १ सय १५ रन बनाएको सुदुरले आर्मीलाई खेल अवधिभर जितका लागि धौ–धौं पारेको थियो ।

७५ रनमा ६ विकेट गुमाएको आर्मीलाई बिक्रम सोबले महत्वपूर्ण योगदान दिदै खेलमा कायमै राखेका थिए । आदित्य महताले १५ औं ओभरमा टिकेर बसेका अ‍ोपनर हरि चौहान र नयाँ ब्याट्स्म्यान राजेश पुलामीलाई शुन्यमा पेभिलियन फर्काएपछि सुदुर खेलमा फर्किएको थियो ।

तर बिक्रमले १६ औं ओभरमा शेर मल्ललाई दुई छक्का र एक चौका सहित १६ रन प्रहार गरेपछि आर्मीको जितको आधार खडा भएको थियो । त्यसपछि कसिलो बलिँग गरेपछि आर्मीलाई बिकास आग्रीको अन्तिम ओभरमा ७ रनको आवश्यकता रहेको थियो ।

बिकासले पहिलो पाँच बलमा मात्र पाँच रन दिएपछि आर्मीलाई अन्तिम बलमा दुई रन आवश्यक थियो । बिक्रम स्ट्राइकमा नरहेपनि शाहबले छक्का प्रहार गर्दै आर्मीलाई सनसनीपूर्ण जित दिलाए । आर्मीले ७ विकेटको क्षतिमा १ सय २० रन बनायो ।

जारी प्रतियोगिताकै उत्कृष्ट बलिँग प्रदर्शन गर्दै ६ विकेट लिएका बिक्रमले २२ बलमा २९ रन बनाए । टप अर्डरमा हरिले ३९ बलमा ३३ रन बनाए । उनले चार चौका प्रहार गरे । अर्का ओपनर भिम सार्कीले १३ र कुशल मल्लले ११ रन बनाए ।

आदित्यले चार ओभरमा १४ रन खर्चदै चार विकेट लिए ।

यसअघि बिक्रमले धुवाधार बलिँग गरेपछि सुदुर सामान्य योगफलमै खुम्चिएको थियो । बिक्रमले ८ रनमात्र खर्चिएका थिए ।

१० रनमै दुई विकेट गुमाएको सुदुरलाई खडक बोहोरा र बसन्त कार्कीले ६२ रनको साझेदारी गर्दै सम्हालेका थिए । खडकले ४२ बलमा ३७ रन बनाउदा एक चौका र एक छक्का प्रहार गरे । यस्तै बसन्तले २८ बलमा ३४ रन बनाउदा दुई छक्का प्रहार गरे । अर्जुन साउदले १५ रन बनाए ।

Click to comment

Trending