Headline

लगातार तेश्रो जितसँगै पुलिस सेमिफाइनलमा

Published

on

दिपेन्द्र सिँह ऐरि र कुशल भुर्तेलले बिष्फोटक ब्याटिङ्ग गरेपछि नेपाल पुलिस क्लब बिशाल जितसँगै प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता इतिहासकै सर्वाधिक योगफल खडा गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले त्रिवि क्रिकेट मैदानमा लगातार तेश्रो जित हात पार्ने क्रममा कर्णाली प्रदेशलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

पहिलो ब्याटिँग गरेको उपाधिको प्रबल दाबेदार पुलिसले २० ओभरमा ६ विकेट गुमाउदै २ सय ४४ रन बनायो । जवाफमा कर्णालीले २० ओभरमा ९ विकेट गुमााउदै १ सय ५५ रनको सम्मानजनक योगफल बनायो ।

पहाड जस्तो लक्ष्य पछ्याउने क्रममा कर्णालीका लागि प्रकाश जैसीले ४७ बलमा ६८ रन बनाए । अन्तिम बलमा आउट भएका प्रकाशले ६ चौका र तीन छक्का प्रहार गरे । त्यसबाहेक दिवान पुन र कप्तान रविन्द्र जँग शाहीले समान १७ रन बनाए ।

९ जना बलर प्रयोग गरेको पुलिसका लागि दिपेन्द्र र योगेन्द्र सिँह कार्कीले २–२ विकेट हात पारे ।

यसअघि दिपेन्द्र र कुशलले शतक बनाउन चुक्दा ४६ बलमै शतकीय साझेदारी पुरा गरेका थिए । उत्कृष्ट शुरुवात पाएको पुलिसका लागि पवन सर्राफले १३ बलमा २२ रन बनाँउदा पहिलो विकेटका लागि कुशलसँग ४ दशमलव २ ओभरमै ५२ रनको साझेदारी गरेका थिए ।

तर पुलिसको रन गतिले थामिने नाम नै लिएन । कुशलले २१ बलमै अद्र्धशतक पुरा गरेका थिए भने दिपेन्द्र २३ बलमा । ३९ बलमा ८२ रन बनाएका कुशलको इनिङ्गसमा ९ चौका र तीन छक्का सामेल थियो । उनी आउट हुँदा खेलमा अझै ४३ बल बाँकी थियो ।

उत्तिकै आक्रमक ब्याटिँग गरेका दिपेन्द्रले २८ बलमा ६२ रन बनाए । उनले पनि ९ चौका र दुई छक्का प्रहार गरे । उनी आउट हुँदा अझै ३४ बलको खेल बाकीँ रहेको थियो ।

पुलिसलाई किर्तिमानी योगफलतर्फ धकेल्ने काम दिलिप नाथ र आरिफ शेख (१८) को जोडीले गर्यो । दुई ब्याट्स्म्यानले छैटौं विकेटका लागि १६ बलमै ४८ रनको साझेदारी गरेका थिए । दिलिपले ९ बलमै तीन छक्का र एक चौका प्रहार गर्दै ३० रन बनाए ।

प्रतियोगितामा एक खेल मात्रै जितेको कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र जँग शाहीले २–२ विकेट लिएका थिए ।

Click to comment

Trending