Headline

लिभरपुलले बल्ल बुझ्दैछ सलाहको सहि मुल्य

Published

on

एक घण्टा भन्दा बढी समय १० खेलाडीमा सिमित भएको आर्सनलबिरुद्ध लिग कप सेमिफाइनलको पहिलो लेगमा गोलरहित बराबरीमा रोक्किएपछि लिभरपुललाई इजिप्सियन स्टार मोहम्मद सलाह बिनाको क्लब कस्तो हुने हो सोच्न बाध्य बनाएको छ ।

अफ्रिका कप अफ नेसन्समा इजिप्टको नेतृत्व गरिरहँदा सलाह एक महिना लिभरपुलको टोलीमा हुने छैनन् ।

तर यो सिजन प्रिमियर लिगका सर्वाधिक गोलकर्ताको सम्झौतामा मात्र १८ महिना बाँकी रहेको र अहिलेसम्म नयाँ सम्झौतातर्फ कुनै संकेत नरहेको स्थितिमा सलाहको क्लबसँगको भविष्य समेत अन्यौलमा रहेको छ ।

“म बस्न चाहन्छु तर यो मेरो हातमा छैन । यो उनीहरुको (क्लब व्यवस्थापन) हातमा छ । उनीहरुलाई थाहा छ मैले के चाहिरहेको छु । मलाई केही फरक गर्नु पर्छ भन्ने छैन,” यसै साता एक म्यागजिनलाई दिइएको अन्तर्वार्तामा सलाहले भनेका थिए ।

पाँच बर्ष अगाडी इटालियन सिरी आ टोली एएस रोमाबाट लिभरपुल आए यता सलाह लिभरपुल लेजेण्ड भइसकेका छन् ।

२ सय २९ खेलमा १ सय ४८ गोल गर्दा सलाहले लिभरपुलको ३० बर्षदेखिको प्रिमियर लिग उपाधिको खडेरी तोड्ने क्रममा प्रमुख प्रदर्शन दिनुका साथै क्लब इतिहासको छैटौं च्याम्पियन्स लिग उपाधिमा महत्वपूर्ण भुमिका निभाएका थिए ।

तर उनी जुनमा ३० बर्षको हुँदैछन् र तथ्यांकमा उच्च बिश्वास राख्ने लिभरपुलको अमेरिकन मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) आफ्नो करिअरको उच्च बिन्दु पार गरेका खेलाडीलाई बढी पैसा दिने कि नदिने बिषयमा सतर्क रहनेछ ।

“सलाह प्रिमियर लिग अथवा संसारका अन्य कोही उत्कृष्ट खेलाडीकै सरह कमाउन चाहन्छन् । उनी यसको हकदार पनि छन् । सलाहले अबको समरमा अथवा १८ महिनामा लिभरपुल छोड्ने हो भने क्लबका मालिकहरुलाई कसैले क्षमा दिने छैनन्,” पुर्व लिभरपुल डिफेन्डर जेमी क्यारागरले भने ।

पछिल्लो ५ बर्षमा क्लबले जुन किसिमको स्ट्यान्डर्ड सेट गरेको छ त्यसलाई आधार मानेर हेर्ने हो भने एफएसजीलाई सलाहलाई क्लबमै राख्ने मात्र नभएर योर्गन क्लोपलाई अझै धेरै फर्वार्डहरुको बिकल्प दिनु पर्ने दवाब रहनेछ ।

म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र आर्सनलले समर ट्रान्सफर विन्डोमा १ सय मिलियन पाउण्ड भन्दा बढी खर्च गर्दा लिभरपुलले सेन्टर ब्याक इब्राहिम कोनाटेलाई ३६ मिलियन पाउण्डमा खरिद गरेको थियो ।

लिभरपुलको एक मात्र खरिद कोनोटले आफूलाई पहिलो रोजाईको नियमित खेलाडीको रुपमा स्थापित गर्न नै बाँकी रहेको छ ।

सलाह र अर्का प्रमुख खेलाडी, सेनेगलका सादियो माने यो महिना अफ्रिका कप अफ नेसन्सका लागि क्यामरुनमै हुने लामो समय अगाडी नै जानकारी पाएको लिभरपुल बिहिबार आर्सनलबिरुद्ध टिममा गहिराइ नभएको कारण नै फिक्का प्रदर्शन गर्न पुग्यो ।

क्लबको शुरुवाती ११ मा दुर्लभ मौका पाएका जापानी अन्तर्राष्ट्रिय टाकुमी मिनामिनो केही राम्रा अवसरहरु पाए पनि त्यसको फाइदा उठाउन असफल रहे । रोबर्टो फर्मिनोले आफ्नो स्थान डियोगो जोदासँग गुमाउदा बिहिबार मौका पाएपनि कुनै समय क्लोपको उत्कृष्ट जितहरुमा देखिने गरेका उत्कृष्ट खेलाडीको छायाँ मात्र रहन पुगे ।

लगातार तीन खेल जितबिहिन रहेको स्थितिमा लिभरपुलको उपाधि चुनौति धमिलो हुँदै गएको छ । सलाह र मानेको पुनरागमन अघि दुई लिग खेलका साथै आर्सनलसँग दोश्रो लेग खेल्नु पर्ने कारण पनि क्लोपलाई खराब समय आउन बाँकी नै रहेको भन्ने डर छ ।

Click to comment

Trending