Headline

पन्तको किर्तिमानी शतकले पनि जोगाउन सकेन भारतलाई, दक्षिण अफ्रिका जित नजिक 

Published

on

विकेट किपर ब्याटर ऋषभ पन्तले किर्तिमानी शतक प्रहार गरे पनि घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको तेश्रो तथा अन्तिम टेस्टमा भारत हार नजिक पुगेको छ । तीन खेलको शृंखला १-१ को अवस्थामा रहेको छ । यस टेस्टमा जित हात पार्ने टोलीले शृंखला माथि पनि कब्जा जमाउने छ ।  

२१२ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेश्रो दिनको खेलको समाप्तिमा २९ दशमलब चार ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १०१ रन बनाएको छ । अब अन्तिम दुई दिनको खेल बाँकी रहँदा दक्षिण अफ्रिकालाई जितका लागि १११ रनको आवश्यकता रहेको छ भने उसको हातमा अझै आठ विकेट बाँकी रहेको छ ।

दक्षिण अफ्रिकाका किगन पिटरसन ४८ बलमा अविजित छन् । ६८ बलको सामना गरेका उनले सात चौका प्रहार गरे । पहिलो दिनको खेल सकिनु केही बल अघि मात्र ओपनिङमा आएका कप्तान डिन एल्गर ३० रन बनाएर जस्प्रित बुम्राको बलमा आउट भए भने अर्का ओपनर ऐडेन मारक्रम १६ रन जोड्दै मोहम्मद शामीको शिकार बन्न पुगे ।

पहिलो पारीको आधारमा १३ रनको अग्रता लिएको भारतको तर्फबाट पन्तले अविजित रहँदै १०० रन बनाए पनि पुरै टोली ६७ दशमलब तीन ओभर खेल्दै १९८ रन जोड्दा अलआउट हुन पुग्यो । 

१३९ बलको सामना गर्दै ६ चौका र चार छक्का प्रहार गरेका पन्त भारतको तर्फबाट इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकामा शतक प्रहार गर्ने पहिलो र एक मात्र विकेट किपर हुन् । पन्त बाहेक कप्तान विराट कोहलीले १४३ बलमा २९ र ओपनर केएल राहुलले १० रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतलाई सस्तोमा रोक्ने क्रममा मार्को यानसनले सर्वाधिक चार विकेट हात पार्दा कागिसो रबाडा र लुंगी एनगिदीले पनि समान ३-३ विकेट आफ्नो नाममा लेखाए ।

 

 

Click to comment

Trending