Headline

अनिलको उत्कृष्ट बलिँग प्रदर्शनमा लुम्बिनीको पहिलो जित

Published

on

स्पिनर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको दोश्रो खेलमा अनिलले जारी प्रतियोगिताकै उच्च बलिङ्ग प्रदर्शन गर्दा लुम्बिनीले प्रदेश २ माथि ४२ रनको फराकिलो जित हात पार्यो । लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।

टस जिती पहिलो ब्याटिङ्ग गरेको लुम्बिनीले देव खनालको अद्र्धशतकको मद्दतमा १ सय ६१ रनको चुनौतिपूर्ण योगफल बनायो । जवाफमा अनिलले टप अर्डरसँगै खतरनाक ब्याट्स्म्यान आदिल अन्सारीको विकेट लिएपछि प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाउदै १ सय १९ रनमात्र बनाउन सक्यो ।

प्रदेश २ कुनै पनि समय लुम्बिनीलाई खेलमा चुनौति दिन असफल रह्यो । फिल्डिँगका दौरान हातमा चोट लागेर उपचार गरेर फर्किएका बिबेक यादव १० औं नम्बरमा ब्याटिँग गर्न आउँदा प्रदेश २ को हातबाट खेल लगभग फुत्किसकेको थियो ।

आक्रमक ब्याटिङ्ग गरेका बिबेकले २४ बलमा नटआउट ३६ रन बनाए । उनको इनिङ्गसमा तीन छक्का र दुई चौका सामेल थियो ।

उसका लागि ओपनर सन्तोष कार्की र हरिकृष्ण झाले समान १४ रन बनाए भने आदिल र रुपेश सिँहले १३ रन जोडेका थिए । अनिलले चार ओभरमा एक मेडन राख्दै मात्र १३ रन खर्चिएर पाँच विकेट हात पारेका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको लुम्बिनीको इनिङ्गसलाई देवले सम्हालेका थिए । ओपनिङ्ग गर्न आएका सौरभ खनाल १० रनमै आउट भएपछि देवले दोश्रो विकेटका लागि सुशान्त सिँह थापा (१४) सँग ४२ र तेश्रो विकेटका लागि बसिर अहमदसँग ५३ रन जोडेका थिए ।

देवले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । बसिरले ३७ बलमा ३० रन बनाए भने सन्दिप रजालीले १८ बलमा ३० रन जोड्दा दुई चौका र एक छक्का प्रहार गरे । प्रदेश २ का लागि बिबेक र रुपेशले समान २ विकेट हात पारे ।

Click to comment

Trending