Headline

‘पिँजडाको बाघ’ सान्चेजले जिताए इन्टरलाई इटालियन सुपर कप

Published

on

चिलीयन स्ट्राइकर एलेक्सिस सान्चेजले अतिरित्त समयको इन्जुरी टाइममा गोल गर्दै इन्टर मिलानलाई इटालियन सुपर कपको उपाधि जिताएका छन् ।

नाटकीय खेल टाई ब्रेकरतर्फ धकेलिन मात्र एक मिनेट बाँकी रहेको स्थितिमा सान्चेजले गोललाइन नजिकबाट गोल गर्दै सिमोन इन्जागीलाई एन्टोनियो कोन्टेको स्थान लिएको पहिलो सिजनमै उपाधि दिलाए ।

यो सिजन मात्र चार खेलमा इन्टरका लागि शुरुवात गरेका सान्चेजले गोल गरेपछि साइडलाइनमा खुशीयाली मनाउन जाँदा टिम मेटहरुको हुलमा सबैभन्दा तल परेका थिए ।

खेलमा अग्रता भने युभेन्टसले लिएको थियो । वेस्टर्न म्याक्केनीले गोल गरेपछि लौटारो मार्टिनेजले इन्टरलाई पहिलो हाफको अन्त्यमा खेलमा फर्काएका थिए ।

“महान खेलाडीहरुको बिशेषता यही हो । हामी जती बढी खेल्छौं, राम्रो महसुस गर्छौ । मलाई म पिँजडाको बाघ जस्तो लागिरहेको छ । यदि उनीहरुले मलाई खेल्न दिने हो भने म राक्षस नै हुन्छु,” सान्चेजले भने ।

इटालियन सिरी आ मा लगातार ८ खेल जित्दै उत्कृष्ट लयमा देखिएको इन्टरको यो अर्को आत्मबिश्वास बढाउने उपाधि रह्यो । इन्टरले सिरी आ मा शहरी प्रतिद्वन्दीसँग एक अंकको अग्रता बनाइरहेको छ ।

युभेन्टसको लागि भने अर्को निराशाजनक परिणाम निक्लिएको हो । यो सिजन खराब प्रदर्शन गर्दै आइरहेको युभेन्टस सिरी आ मा पाचौं स्थानमा छ र उ इन्टरभन्दा ११ अंकले पछाडी छ । इन्टरले अझै एक खेल कम खेलेको छ ।

Click to comment

Trending