Headline

आईपिएल प्रायोजनबाट हात झिकेपनि भिभोले बिसिसिआईलाई तिर्दैछ ४ सय ५४ करोड

Published

on

चिनिया मोबाइल उत्पादक कम्पनी भिभोले इण्डियन प्रिमियर लिगको प्रायोजनबाट आफ्नो हात झिकेपनि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) लाई ४ सय ५४ करोड तिर्ने भएको छ ।

बिसिसिआईको आईपिएल गभर्निङ्ग काउन्सिलले बुधबार औपचारिक रुपमा टाटा ग्रुप २०२२ को सिजनदेखि आईपिएलको नयाँ मुख्य प्रायोजक रहेको घोषणा गरेको थियो । लगातार तेश्रो सिजन आईपिएलमा फरक मुख्य प्रायोजक पनि देखिने भएको हो ।

टाटाले प्रति सिजन मात्र ३ सय ३५ करोड भारतीय रुपैया दिएपनि अन्य प्रायोजनहरुमार्फत बिसिसिआईले दुई सिजन गरेर कुल ११ सय २४ करोड भारतीय रुपैया कमाउनेछ ।

भिभोले २०१८ मा आईपिएलसँग पाँच बर्षको मुख्य प्रायोजकको लागि सम्झौता गरेको थियो । तर फोर्स मजु (बाध्यकारी परिस्थितीका सम्झौता टुँग्याउन पाउने प्रावधान) अन्तर्गत उसले दुई सिजन अघि नै हात झिकेको हो ।

यस्तो परिस्थितिमा २०२२ मा ४ सय १८ र २०१३ मा ५ सय १२ करोड तिर्नु पर्ने रकमको क्षतिपुर्ति स्वरुप भिभोले बिसिसिआईलाई ४ सय ५४ करोड दिनुपर्ने भएको छ ।

हालकै प्रावधान प्रयोग गर्दै भिभोले २०२० मा पनि सम्झौताबाट हात निकालेको थियो र बिसिसिआईले ड्रिम इलेभेनलाई २ सय २० करोडमा प्रायोजकको रुपमा भित्र्याएको थियो । कोरोनाका कारण दुई चरणमा भएको २०२१ को आईपिएलका लागि भने भिभो फर्किएको थियो ।

हालको बजारको अवस्थालाई मध्येनजर गर्दै भिभोले अब बाँकी दुई सिजनका लागि नै आईपिएलबाट हात झिक्ने बिसिसिआईलाई बताएको थियो । ओमिक्रन भाइरसको लहर बढ्दै गर्दा भारतमा बिस्तारै लकडाउनको अवस्था आउन थालिसकेको छ ।

बिसिसिआईले पहिले टेन्डर आह्वान गर्ने बिषयमा सोचेपनि बिद्दमान बजारलाई हेर्दै आफै अर्को प्रायोजकको खोजी गरेको हो ।

२०२० मा भारत र चिनबीच सिमामा बिवाद चर्कदै गर्दा भारतमा चिनिया उत्पादनलाई बहिष्कार गरिनु पर्ने भन्दै अभियान समेत चलेको थियो । भिभो २०२१ मा फर्किएपनि उसले हालको बजार नाजुक अवस्था हात झिक्नु पर्ने प्रमुख कारण रहेको बताएको छ ।

 

Click to comment

Trending