Headline

जापानका ‘गोल्डेन ओल्डी’ किँग काजुले ५४ बर्षको उमेरमा गरे नयाँ क्लबसँग सम्झौता

Published

on

दशकौं लामो फुटबल करिअरलाई अझै तन्काउदै जापानी फुटबल स्टार काजुयोसी मिउराले ५४ बर्षको उमेरमा नयाँ क्लबमा अनुबन्ध भएका छन् ।

किँग काजु उपनामले चर्चित मिउराले मँगलवार आफ्नो दाजुले व्यवस्थापन गर्दै आइरहेको चौथो श्रेणीको क्लब सुजुका पोइन्ट गेटर्ससँग सम्झौता गरेका हुन् । “मेरो प्रयास भनेकै टिमको लागि मैदानमा जितका लागि योगदान गर्ने हो,” कहिल्यै नथाक्ने मिउराले थप उत्साहका साथ उनको आगमनपछि भने ।

नयाँ सिजनका लागि फर्वार्ड मिउराले ११ नम्बरको जर्सी लगाउने छन् ।

फेब्रुवरीमा ५५ लाग्न गइरहेका मिउराले गत साता आफूलाई थुप्रै घरेलु र बिदेशी क्लबहरुबाट प्रस्ताव आइरहेको बताएका थिए । उनी गत सिजनसम्म पनि जापानको प्रथम श्रेणीको फुटबलमा योकोहामा एफसीका लागि अनुबन्धित थिए ।

अघिल्लो बर्ष अंक तालिकाको पुछारमा सक्काएको मिउराले लिगमा जम्मा एक मिनेट मात्र खेलेका थिए । आफ्ना दाजु यासुतोषी प्रशिक्षक रहेको नयाँ टोलीमा अब आफू धेरै असर पार्नेमा उनी बिश्वस्त छन् ।

मिउराले ब्राजिल, जापान, इटाली, क्रोएसिया र अष्ट्रेलियाका गरि एक दर्जनभन्दा बढी क्लबबाट व्यवसायिक फुटबल खेलिसकेका छन् ।

“यो क्लबको लागि खेल्ने अवसर दिएकोमा म निकै आभारी छु,” क्लबले निकालेको बिज्ञप्तिमा मिउराले भनेका छन् । गत सिजन योकोहामाले नयाँ सम्झौता दिन खोजेपनि खेल्ने समय नपाएका कारण आफू नयाँ क्लबको खोजीमा रहेको उनले बताएका थिए ।

मिउरा ६० बर्षको उमेरसम्म खेल्न चाहन्छन् । ९० को दशकमा एसियाकै उत्कृष्ट मध्येका एक फुटबलरमा दरिएका उनले जापानको व्यवसायिक फुटबल जे–लिग १९९३ मा शुरु हुँदा खेलाडीकै रुपमा अतुलनीय योगदान दिएका थिए ।

१९८२ मा जापान छोड्दै ब्राजिल गएका उनले १९८६ मा सान्टोस एफसीका लागि खेल्दै व्यवसायिक डेब्यु गरेका थिए । जापानको लागि १९९० मा डेब्यु गरेका उनलाई राष्ट्रिय टोलीका लागि ८९ खेलबाट ५५ गोल गर्दा गर्दै पनि देशले पहिलो पटक खेलेको १९९८ को बिश्वकप टोलीमा नराख्दा जापानमा ठूलै खैलाबैला मच्चिएको थियो ।

सुजुका २०१९ स्पेनकी मिला मार्टिनेजलाई नियुक्त गर्दै जापानी क्लबमा पहिलो पटक महिला प्रशिक्षक राख्ने टोलीको रुपमा समाचारमा छाउन सफल भएको थियो ।

Click to comment

Trending