Headline

रबाडा र यानसनको बलिङ अघि चलेन भारतको ब्याट 

Published

on

कागिसो रबाडा र मार्को यानसनले घातक बलिङ गर्दा पाहुना टोली भारत घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको तेश्रो तथा अन्तिम टेस्टको पहिलो पारीमा मात्र २२३ रनमा अल आउट भएको छ । 

आज नै आफ्नो पहिलो पारी सुरु गरेको दक्षिण अफ्रिकाले आठ ओभर खेल्दै एक विकेटको नोक्सानीमा १७ रन बनाएको छ भने भारत भन्दा २०६ रनले पछि छ र उसको हातमा अझै नौ विकेट बाँकी नै छ ।

कप्तान डिन एल्गर तीन रन बनाएर जस्प्रित बुम्राको शिकार बन्न पुगे पनि एडन मारक्रम आठ तथा केशव महाराज ६ रनमा अविजित छन् ।

रबाडाले चार तथा यानसनले तीन विकेट हात पार्दा कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले पनि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ७७ दशमलब तीन ओभरमा २२३ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो ।

भारतको तर्फबाट कप्तान कोहलीले २०१ बलको सामना गर्दै १२ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ७९ रन बनाए । ३३ रनमा दुई ओपनरहरु केएल राहुल (१२)मायंक अगरवाल (१५) रनमा आउट हुँदा खराब सुरुवात गरेको भारतको लागि कोहलीले चेतेश्वर पुजारासँग मिलेर तेश्रो विकेटको लागि ६२ रनको साझेदारी गर्दै भारतको पारी सम्हाल्ने प्रयास गरे । तर ७७ बल खेल्दै ४३ रन बनाएका पुजारा मार्कोको बलमा आउट हुन पुगे ।

भारतका अन्य ब्याटरहरुले उल्लेख्य योगदान दिन नसक्दा भारत सस्तैमा समेटिन पुगेको हो । कोहली पुजारा बाहेक अजिंक्य रहाने नौ, विकेट किपर ब्याटर ऋषभ पन्त २७, रविचन्द्रन अश्विन दुई, शार्दुल ठाकुर १२ र जस्प्रित बुम्रा शुन्य रनमा आउट भए । नवौँ विकेटका रुपमा कोहली आउट हुँदा भारतको बोर्डमा स्कोर २११ रन मात्र थियो । त्यस पछि आएका मोहम्मद शामी सात रनमा आउट भए भने उमेश यादव चार रनमा अविजित रहे ।

रबाडाले २२ ओभरमा ७३ रन खर्चिए भने मार्कोले १८ ओभरमा ५५ रन दिन पुगे ।  

तीन खेलको शृंखला १-१ को अवस्थामा रहेको छ । त्यसैले यस टेस्टमा जित हात पार्ने टोलीले शृंखला माथि पनि कब्जा जमाउन सफल हुनेछ ।  पहिलो टेस्ट भारतले ११३ रनको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो टेस्टमा दक्षिण अफ्रिकाले सात विकेटको सहज जित हात पारेको थियो ।   

Click to comment

Trending