Headline

आर्मी १० खेलाडीमा सिमित भयो… तर यो फुटबल होइन

Published

on

सोमबार त्रिभुवन आर्मी क्लब १० खेलाडीमा सिमित भयो । तर यो फुटबलको समाचार होइन ।

त्रिवि क्रिकेट मैदानमा शुरु भएको प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको हो ।

कर्णाली प्रदेशबिरुद्ध प्रधानमन्त्री कपको आफ्नो पहिलो खेलमा आर्मी खराब ब्याटिङ्ग गर्दा गर्दै पनि ६३ रनको फराकिलो अन्तरले पराजित गर्यो । त्यो पनि १० खेलाडी मात्रै मैदानमा उतारेर ।

कुरा अस्पष्ट छ र पहिलो खेलमा के भयो बुझ्न पनि कठिन । १९ दशमलव १ ओभरमा आर्मीले सुशन भारी श्रेष्ठलाई नवौं विकेटको रुपमा गुमायो । अर्को एण्डमा रहेका जितेन्द्र मुखिया पनि भारीसँगै पेभिलियन फर्किए, टिमको इनिङ्गस समाप्त भएको संकेत गर्दै ।

अम्पायर दुर्गानाथ सुबेदी र हिमाल राज गिरीले अन्तिम विकेटको बारेमा सोधे र आर्मी टोलीले इनिङ्गस समाप्त भएको बतायो । बिहान हलुका वार्म अपपछि टिमसँगै फोटो खिचाएका सोनु तामाङलाई स्कोरकार्डमा एब्सेन्ट हर्ट (घाइते भएर खेल्न नसक्ने) देखाइयो ।

खेल समाप्तिपछि आर्मीका कप्तान बिनोद भण्डारीले सोनुलाई ज्वरो आएको बताए ।

एब्सेन्ट हर्टको स्थितिमा दोश्रो इनिङ्गसमा घाइते खेलाडीको स्थानमा फिल्डिँग गर्न अर्को खेलाडीलाई अनुमति दिइन्छ ।

फिल्ड अम्पायरले सोनुको स्थानमा फिल्डिँग गर्न आएका आकाश चन्दलाई फर्काइदिएका थिए र आर्मीले १० खेलाडीमै सिमित रहेर दोश्रो इनिङ्गस सक्कायो । १ सय १७ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रेको कर्णाली १४ दशमलव ४ ओभरमै ५३ रनमा धराशायी भयो ।

सोनुलाई किन खेल्न दिइएन ?

कप्तान भण्डारीले उनलाई ज्वरो आएको बताएपनि फिल्ड अम्पायरको सब्स्टिच्युट फिल्डरलाई फर्काइदिने निर्णयले यो कारण भ्यालिड देखिदैन ।

सोनुले पिएम कप छनोटका खेलहरु बालुवाटार क्रिकेट क्लब र काठमाडौं जिल्लाबाट खेलेका थिए

“क्रिकेटको नियम २४ अनुसार खेलाडी अनुपस्थित भएको बिषयमा आर्मीले दिएको कारण चित्त बुझ्दो थिएन । यदि कारण भ्यालिड देखिदैन भने सब्स्टिच्युट फिल्डर पनि राख्न मिल्दैन । यही कारणले अम्पयारहरुले यो निर्णय लिनु भएको हो,” म्याच रेफ्रि समिर खानले भने ।

सब्स्टिच्युट फिल्डर पनि नदिने स्थिति भने प्लेयिङ्ग ११ मा समेटिएका खेलाडी अयोग्य रहदा मात्र आउने गर्छ ।

सोनुले प्रधानमन्त्री कपका लागि क्लब छनौट बालुवाटार क्रिकेट क्लब र जिल्ला छनौट काठमाडौंबाट खेलेका थिए । यस्तोमा आर्मीबाट खेल्नका लागि उनलाई रिलिज लेटर आवश्यक पर्छ । क्यान श्रोतका अनुसार आवश्यक पत्र बुझाउन नसकेपछि उनले प्लेयिङ्ग ११ मा समेटिए पनि खेल्ने अवसर पाएका थिएनन् ।

म्याच रेफ्रि समिर खानले यस बिषयमा आफूले सरोकार राख्न नमिल्ने बताए भने सोनुसँग यस बिषयमा जानकारी लिनका लागि उनी सम्पर्कमा आउन सकेनन् ।

सम्भवतः नेपाली घरेलु क्रिकेटमा पहिलो पटक कुनै टोली १० खेलाडीमा सिमित भएको हो । र उसले जित्यो पनि ।

Click to comment

Trending