Headline

ए डिभिजन लिगः शेर्पालाई हराउदै थ्रि स्टार शिर्ष चारको दाबेदारीमा

Published

on

हिमालय शेर्पा क्लबलाई २–० ले पराजित गर्दै थ्रि स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ ।

दशरथ रँगशालामा आइतबार भएको एक मात्र खेलमा अमृत श्रेष्ठको आत्मघाती गोलबाट अग्रता लिएको थ्रि स्टारले खेलको अन्त्यमा अन्सुमाना क्रोमाह्को गोलमा लगातार दोश्रो जित हात पार्न सफल भएको हो ।

जितसँगै थ्रि स्टारको ८ खेलबाट १३ अंक भएको छ र तेश्रो स्थानको संकटा क्लबसँग मात्र एक अंकको दुरीमा रहेको छ । चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक रहेको छ भने शिर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबको २० र मनाङ मस्र्याङ्गदी क्लबको १९ अंक छ ।

लगातार चार बराबरीपछि थ्रि स्टारले लगातार दुई जित हात पार्दै शिर्ष फूलाचारको चुनौतिमा आई प्रस्तुत गरेको हो । शेर्पाको ११ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

पहिलो हाफमा दुवै पक्षबाट उल्लेखनीय मौका सृजना नभएपनि ५७ औं मिनेटमा थ्रि स्टार भाग्यमानी साबित भयो । थ्रि स्टारले शेर्पाको बक्समा दवाब बढाउदै गर्दा ऋतिक खड्काको लागि आएको बलमा अमृत श्रेष्ठलाई लाग्दै आत्मघाती गोल भएपछि थ्रि स्टारले अग्रता लिएको थियो ।

७३ औं मिनेटमा बक्स भित्र आएको बलमा मुटाम्बा पिस्टोनीले अनन्त तामाङको दवाबमा गरेको प्रहार सिधै गोलकिपरको हातमा पुगेको थियो । ८४ औं मिनेटमा उलरिच सिवेको कटब्याकले बक्समा अनर्माक रहेका बिजय श्रेष्ठलाई भेट्टाएपनि उनको प्रहारलाई थ्रि स्टार डिफेन्सले रोक्दै खतरा टारेको थियो ।

तुलनात्मक रुपमा राम्रो खेलेको शेर्पा १० मिनेटको इन्जुरी समयमा गोल खान पुग्यो । तीन मिनेट बाँकी रहेको स्थितिमा लिगमा दोश्रो खेल खेलिरहेका क्रोमाह्ले थ्रि स्टारको जित सुनिश्चित गर्न सफल भए ।

Click to comment

Trending