Headline

बेन्जेमाको रियल म्याड्रिडका लागि ३ सयौं गोल

Published

on

फ्रेञ्च स्ट्राइकर करिम बेन्जेमाले क्लबका लागि ३ सयौं गोलको कोशेढुँगा पुरा गर्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा ८ अंकको अग्रता बनाउन सफल भएको छ ।

बेन्जेमा र ब्राजिलियन भिनिसियसले २–२ गोल गरेपछि रियलले शनिबार ४–१ को फराकिलो जित हात पार्न सफल भयो । दोश्रो स्थानको सेभियाको ४१ अंक रहेपनि उसले दुई खेल भने कम खेलेको छ ।

शनिबार नै बार्सिलोना ग्रानडासँग १–१ गोलको बराबरीमा रोक्किएपछि उसको चार महिनामा पहिलो पटक शिर्ष चारमा प्रवेश गर्ने अभियानमा धक्का लागेको छ । बार्सा पाचौ स्थानमा अड्किएको छ र समान ३२ अंक रहेको डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिडसँग गोल अन्तरमा पछि परेको छ ।

रियल बेटिस र रियल सोसिडाडको समान ३३ अंक रहेको छ । सेभियाले आइतबार गेटाफेसँग खेल्दैछ भने बेटिस र सातौं स्थानको रायो भालेकानो अर्को खेलमा आमने–सामने हुँदैछन् ।

स्यान्टियागो बर्नाबेउमा बेन्जेमाले रियलका लागि आफ्नो ३ सयौं गोल पेनाल्टी मार्फत गरेका थिए । भिनिसियसले दोश्रो हाफमा बेन्जेमासँग वान–टु पासमा पाँच भ्यालेन्सिया डिफेन्डरलाई छक्काउदै सुन्दर गोल गरेका थिए ।

६१ औं मिनेटमा भिनिसियसले अग्रता तेब्बर पारेपछि गोन्कालो कुवेडेसले भ्यालेन्सियाका लागि एक गोल फर्काएका थिए । अन्तिम समयमा बेन्जेमाले आफ्नो दोश्रो गोल गरे । बेन्जेमा र भिनिसियसले रियलका लागि यो सिजन संयुक्त रुपमा २९ गोल गरिसकेका छन् । लिगका अन्य १३ टिमले यी दुईको संयक्तु भन्दा कम गोल गरेका छन् ।

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोको बहिर्गमनसँगै रियलको गोल गर्ने जिम्मेवरी वहन गरेका बेन्जेमाले यो सिजन १७ गोल गरिसकेका छन् भने भिनिसियसको १२ गोल रहेको छ । “मलाई भिनिसियससँग खेल्दा निकै आनन्द आउछ । मलाई उनी के गर्न सक्छन् थाहा छ र त्यसैले सधै उनलाई मद्दत गर्छु,” बेन्जेमाले भने ।

बेन्जेमाको लागि गोल तेहोरो शतक ५ सय ८४ खेलमा सम्भव भएको हो । यो कोशेढुँगा पार गर्ने रियल लेजेण्डहरुमा रोनाल्डो, स्पेनिस राउल गोन्जालेज र अलेफ्रेडो डि स्टेफानो रहेका छन् ।

Click to comment

Trending