Headline

पोखरामा मनाङसँग च्यासल ध्वस्त, व्यहोर्यो लिगमै सबैभन्दा ठूलो हार

Published

on

अफ्रिकी खेलाडी ओलावाले ओलादिपो अफिजले ह्याट्रिक गरेपछि घरेलु मैदानमा आफ्नो शत प्रतिशत नतिजालाई कायमै राख्दै मनाङ मस्र्याङ्गदी क्लब शहीद स्मारक ए डिभिजन लिगको दोश्रो स्थानमा कायमै रहन सफल भएको छ ।

मनाङले पोखरा रँगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई ५–० को लज्जास्पद हार चखायो । जारी लिगमा यो सबैभन्दा फराकिलो जित हो ।

यसअघि पोखरामा मनाङले नेपाल पुलिस क्लबलाई ३–१ र ब्रिगेड बोइज क्लबलाई १–० ले हराएको थियो ।

जितपछि मनाङ १९ अंक सहित दोश्रो स्थानमा यथावत छ । शनिबार नै दशरथ रँगशलामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लब फ्रेन्ड्स क्लबबिरुद्ध संघर्षरत जित हात पार्न सफल भएपछि मनाङको लागि आठौं चरणमा शिर्षमा उक्लने मौका गुमिसकेको थियो । मच्छिन्द्रको २० अंक छ ।

हारपछि च्यासलमा पनि रेलिगेसन संकट थप गहिरिएको छ । च्यासल पाँच अंक साथ पछाडीबाट दोश्रो स्थानमा रहेको छ भने फ्रेन्ड्सको तीन अंक छ ।

मनाङलाई जित दिलाउन दुई अफ्रिकी खेलाडीहरुको प्रदर्शन महत्वपूर्ण रह्यो । खेलमा सम्हालिन नपाउदै च्यासल तेश्रो मिनेटमै पछि परेको थियो । ओलावाले ओलादिपो अफिजले निकालेको बलमा च्यासल गोलकिपरसँग वान भर्सेस वानमा एडिलाजा सोमिडेले गोल गरेका थिए ।

पहिलो हाफ सक्किन भन्दा केही मिनेट अगाडी ओलावालेले मनाङको अग्रतालाई दोब्बर बनाए । ८६ औं मिनेटमा दिनेश राजबंशीले कर्नरमा हेडर मार्फत गोल गर्दै मनाङको जितलाई फराकिलो बनाए ।

अन्तिम ६ मिनेटको इन्जुरी समयमा च्यासलले थप दवाबमा खेल्यो । ओलावालेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

Click to comment

Trending