Headline

उमेरलाई छक्याउदै साढे दुई बर्षपछि खवाजाले गरेको अकल्पनीय पुनरागमन

Published

on

उस्मान खवाजाले अन्तिम पटक टेस्ट २०१९, अगष्टमा इंगल्याण्डबिरुद्ध लिड्समा खेलेका थिए । पहिलो इनिङ्गसमा ६७ रनमै अलआउट भएको इंगल्याण्डलाई जितका लागि अष्ट्रेलियाले ३ सय ५९ रनको लक्ष्य दिएको थियो ।

बेन स्टोक्सले एसेज इतिहासकै उत्कृष्ट मध्येको एक पारी खेल्ने क्रममा नटआउट १ सय ३५ रन बनाउदै इंगल्याण्डलाई एक विकेटको सनसनीपूर्ण जित दिलाएका थिए । खवाजाले उक्त खेलमा केही गर्न सकेका थिएनन् । भनौं स्टोक्सको उक्त इनिङ्गसँगै खवाजाको अष्ट्रेलियन टिमबाट बहिर्गमन शुरु भएको थियो ।

जारी एसेजमा अष्ट्रेलिया दुई टेस्ट अघि नै ३–० ले श्रृंखला कब्जा गर्न सफल भइसकेको छ । त्यसैले खवाजाले आफ्नो घरेलु मैदान सिड्नी क्रिकेट ग्राउण्डमा अवसर पाए । उनले साढे दुई बर्षपछि टेस्ट क्रिकेटमा पुनरागमन गरे ।

खवाजाले तीन हप्ता अघि मात्रै आफ्नो ३५ औं जन्मदिन मनाएका थिए । तर उनको पुनरागमनलाई उत्कृष्ट बनाउन त्यो उमेरले छेकेन । शनिबार ८६ रनमै चार विकेट गुमाएको अष्ट्रेलियाको दोश्रो इनिङ्गसलाई मजबुत बनाउदै खवाजाले नटआउट शतकीय पारी खेले ।

उनले पाचौं विकेटका लागि क्यामरुन ग्रिनसँग १ सय ७९ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले दोश्रो इनिङ्गस ६ विकेटको क्षतिमा २ सय ६५ रनमा घोषणा गर्यो । चौथो दिनको अन्त्यमा इंगल्याण्डले विकेट नगुमाई ३० रन बनाएको छ र जितबाट अझै ३ सय ५८ रन टाढा छ ।

बर्षाको अनुमान गरिएको अन्तिम दिन इंगल्याण्डको प्रयास बराबरीका लागि हुनेछ । अष्ट्रेलिया ४–० को अग्रता बनाउन नसक्ला तर खवाजाले आफूलाई सदाका लागि जिवन्त बनाएका छन् ।

करिअरको अन्त्य तिर आइसकेका खवाजाले पहिलो इनिङ्गसमा १ सय ३७ रन बनाएपछि अष्ट्रेलियाले ४ सय १६ रन बनाएको थियो । उनी एसेज इतिहासमा दुवै इनिङ्गसमा शतक ठोक्ने १० औं खेलाडी बने । यो यस्तो पुनरागमन बन्यो जस बारे कसैले सोचेको पनि थिएन ।

अब अष्ट्रेलियाको लागि एउटै समस्या छ । खवाजालाई अन्य टेस्टमा मौका दिने कि नदिने ।

Click to comment

Trending