Headline

ए डिभिजन लिगको ‘सुपर स्याटर्डे’: मच्छिन्द्र, मनाङ र आर्मी खेल्दै

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा आज सुपर स्याटर्डे हो । शनिबार शिर्ष चार मध्येका तीन टोली आ–आफ्नो खेल भिड्दै गर्दा सबैलाई आ–आफ्नो स्थान बलियो बनाउने अवसर रहनेछ ।

दिनको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले दशरथ रँगशालमा दिउसो एक बजे फ्रेन्ड्स क्लबको सामना गर्नेछ । सातौं चरणको समाप्तिमा शिर्ष स्थानमा रहदै एएफसी कप छनोटमा स्थान बनाएको मच्छिन्द्र रेलिगेसनबाट जोगिन संघर्षरत फ्रेण्ड्स बिरुद्ध उच्च आत्मबिश्वासका साथ उत्रनेछ ।

सबै पोजिसनमा उत्कृष्ट खेलाडीहरु रहेको मच्छिन्द्र यो खेलमा जितको दाबेदार हो । फ्रेण्ड्सलाई भने मच्छिन्द्रको चुनौति पन्छाउन फलामको चिउरा चपाए सरह हुनेछ । फ्रेण्ड्सको मात्र ३ अंक हुनेछ तर अनपेक्षित जित निकाल्न सक्ने हो भने उ रेलिगेसन जोनबाट एक अंकका दुरीमा पुग्नेछ ।

पोखरा रँगशालामा आफ्नो बिजयी यात्रालाई निरन्तरता दिने अभियानमा दोश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबले अर्को संघर्षरत टोली च्यासल युथ क्लबको सामना गर्नेछ । मच्छिन्द्रसँग एक अंकको दुरीमा रहेको मनाङ र पाँच अंकका साथ पछाडीबाट दोश्रोमा रहेको च्यासलको लागि दुवै खेल निकै महत्वपूर्ण रहेको छ ।

मनाङले लिगमा तेश्रो पटक घरेलु मैदानमा खेल्न गइरहेको हो । नेपाल पुलिस क्लबलाई ३–१ ले हराउदा मनाङ उत्कृष्ट देखिएपनि गत साता ब्रिगेड बोइज क्लबलाई १–० ले पराजित गर्दा उसको प्रदर्शन त्यति सन्तोषजनक थिएन । खेलमा ब्रिगेडले पेनाल्टीमा गोल गर्न नचुकेको भए मनाङ लिगमा पछि पर्ने थियो ।

एक पटक फेरि मनाङका लागि अञ्जन बिष्टको प्रदर्शन महत्वपूर्ण रहनेछ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अञ्जनले लिगमा गरेका तीन वटै गोल पोखरा रँगशालामै सम्भव भएको छ ।

इटालिमा बि डिभिजनको अनुभव बोकेका बिकास मेराग्लियासहित केही अनुभवी खेलाडीहरु अनुबन्ध गरेको च्यासलका लागि लिग सोचे जस्तो हुन सकेको छैन । खेल राम्रो देखिएपनि च्यासल गोल गर्न चुकिरहेको छ र यसै कारण अब हरेक खेलहरु उसको लागि निकै महत्वपूर्ण हुनेछ ।

मनाङबिरुद्ध अप्रत्यासित जित निकाल्न सक्ने हो भने च्यासल रेलिगेसन जोनबाह बाहिर निक्लदै ११ औं स्थानमा पुलिसको स्थान लिन सक्छ । खेल अपरान्ह २ बजे हुनेछ ।

साँझ ४ः४५ को खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिमको सामना गर्नेछ । लिगमा अपराजित तेश्रो टोली आर्मी यसपटक भने बराबरी नगर्ने अभियानका साथ मैदान उत्रनेछ । ११ अंक रहेको आर्मीले लिगमा पाँच पटक बराबरी खेलिसकेको छ ।

तेश्रो स्थानको संकटा क्लबलाई अंक तालिका पछाडी धकेल्ने हो भने आर्मीले तीन गोल अन्तरको जित हात पार्नु पर्नेछ । तर राजु काजी शाक्यको एनआरटीबिरुद्ध यो सजिलो काम होइन ।

एनआरटी आफै पनि आशा लाग्दो प्रदर्शन गर्दै आइरहेको टोली हो र शनिबार फ्लडलाइटमा जित हात पार्ने हो भने उसले आर्मीलाई पछि पार्दै चौथो स्थानमा कब्जा जमाउन सक्छ । एनआरटी थ्रि स्टारको समान १० अंक छ । थ्रि स्टार गोल अन्तरको आधारमा छैटौं स्थानमा छ ।

पाचौं स्थानको हिमालयन शेर्पा क्लबको पनि ११ अंक छ ।

Click to comment

Trending