Headline

लिग वानमा ४५ बर्षपछि मार्सेले बोर्डोमा रचेको इतिहास

Published

on

फ्रेञ्च लिग वानमा बोर्डोलाई उसकै घरमा ४५ बर्षपछि पराजित गर्दै मार्सेले नयाँ इतिहास रचेको छ ।

शुक्रबार चेँगीज उन्दरले निर्णायक गोल गरेपछि मार्सेले १९७७ पछि पहिलो पटक फ्रान्सको प्रथम श्रेणीको फुटबलमा बोर्डोमाथि ऐतिहासिक अवे जित हात पारेको हो । खाली स्टेडियममा भएको खेलमा गोलकिपर बेनाइट कोस्टिलको खराब गोल किकको फाइदा उठाउदै टर्किस अन्तर्राष्ट्रिय उन्दरले पहिलो हाफ सक्किनु ८ मिनेट अघि बिजयी गोल गरेका थिए ।

बोर्डो टिममा धेरै कोरोन संक्रमित भएपछि खेललाई स्थगित गर्न गरिएको आग्रह लिग पदाधिकारीहरुले अस्विकार गरेपछि घरेलु टोलीले खाली रँगशालामामै खेल्नु परेको थियो । ओमिक्रन भेरिएन्टको संक्रमण रोकथामका लागि फ्रान्समा फुटबल म्याचहरुमा ५ हजार दर्शकलाई मात्र प्रवेश अनुमति दिइएको छ ।

पछिल्लो तीन हप्तामा २१ जनालाई संक्रमण भएको बोर्डोले आफूसँग १७ खेलाडी अनुपस्थित रहने बताएको थियो । गत साता फ्रेञ्च कपमा रिजर्भ टिमका थुप्रै खेलाडी खेलाउन बाध्य बोर्डो ब्रेस्टसँग ३–० ले हार्न पुगेको थियो ।

३७ औं प्रयासमा पहिलो पटक बोर्डोमाथि जित हात पारेपछि मार्से अंक तालिकामा दोश्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा पेरिस सेन्ट जर्माइनको १० अंकको अग्रता रहेको छ ।

“हामी यो जितको खँडेरीलाई तोड्न सफल भएकोमा निकै खुशी छौं,” जितपछि मार्से प्रशिक्षक होर्गे साम्पाओलीले भने ।

बोर्डो रेलिगसेन जोन भन्दा मात्र एक अंकको दुरीमा रहेको छ । यो सिजन पुर्व स्विट्जरल्याण्ड प्रशिक्षक भ्लादिमिर पेट्कोभिचको उपस्थितिमा बोर्डोले लिग वानका २० मध्ये मात्र तीन खेलमा जित हात पारेको छ ।

Click to comment

Trending