Headline

जाभीको आगमनपछि आशाले भरिएको बार्सिलोना ला लिगाको शिर्ष चारमा नजर लाउदै

Published

on

जाभी हर्नान्डेजको आगमनपछि शुरु भएको उपचार प्रकृयाले पूर्ण आकार पाइरहदा बार्सिलोना शनिबार चार महिनापछि स्पेनिस ला लिगाको च्याम्पियन्स लिग स्थानमा फर्कन सक्छ ।

शिर्ष स्थानको रियल म्याड्रिडसँग १५ अंकको दुरीले बार्साको हालको यथार्थ चित्रण गर्दै उसको पिँडा अवगत गराए पनि ग्रानडासँग खेल्नुअघि उ लगातार पाँच खेलमा अपराजित रहेको टोली हुनेछ ।

भर्खरै कोपा डेल रेमा तेश्रो श्रेणीको लिनारेस डेपोर्टिभो, ला लिगामा मायोर्का र एल्चेबिरुद्धको साँघुरो जितसँगै सेभिया र ओसासुनाबिरुद्धको बराबरीलाई क्याम्प नोउमा प्रगतिको लक्षणको रुपमा नहेरिएको पनि हुन सक्छ ।

तर गत महिना मात्र अंक तालिकाको नवौं स्थानको टोली अहिले शिर्ष चारको दावेदारीमा उत्रनु युवाहरुले भरिएको बार्सिलोना टोलीमा धेरै परिवर्तन आइसकेको बुझ्न सकिन्छ ।

गत साता कोभिड र चोटका कारण ८ खेलाडी अनुपस्थित रहेको स्थितिमा मायोर्काबिरुद्ध हात लागेको १–० को जितका कारण बार्साको प्रदर्शन प्रोत्साहनजनक रहेको मान्न मिल्छ । क्लब अध्यक्ष जोआन लापोर्टाले पनि गत साता बार्सिलोनालाई पुनर्जिवन दिने कार्यले अहिले पूर्ण रुप लिइरहेको सन्देश दिदै गर्दा मैदान बाहिरबाट पनि क्लबमा आशा भर्ने काम भएकै छ ।

“राम्रो काम गर्ने इच्छाका साथ सबैजना तैयार हुन पर्छ किनभने हाम्रो पुनरागमन भइसकेको छ । हामीले हाम्रो स्तर कायम गरिसक्यौं । बार्सिलोनाको पुनरुत्थान अहिलेको यथार्थ हो,” म्यानचेस्टर सिटीबाट अनुबन्ध भएका फेरान टोरेसलाई सोमबार क्लबमा सार्वजनिक गर्दा लापोर्टाले भनेका थिए ।

युवा खेलाडीहरुको जमात रहेको बार्सिलोना पछिल्लो पाँच खेलमा अपराजित रहेको छ

स्पेनका प्रतिभावान युवा खेलाडी टोरेसको आगमनले बार्सिलोनामा उत्साह र आशा भरेपनि उनको अनुबन्धनले क्लबको आर्थिक संकटलाई पनि स्पष्ट रुपमा बाहिर उजागर गरेको छ ।

संघर्षरत

टोरेस अनुबन्धित त भए तर ला लिगाको खर्च गर्ने सिमा नमिच्नको लागि बार्सिलोनाले या त अरु खेलाडीलाई बेच्नु पर्छ अथवा अन्य केहीको तलब घटाउदै राख्नु पर्नेछ । टोरेस चोट सँग–सँगै कोरोनाका कारण बाहिरिदा बार्सालाई अतिरिक्त समय त छ तर जाभाी लामो समय कुर्न चाहदैनन् ।

बार्साको गोलको खँडेरीलाई तोड्न नै क्लबले टोरेसलाई भित्र्याएको हो । ग्रानडालाई हराउने हो भने बार्सिलोना कम्तिमा पनि एक दिनको लागि चौथो स्थानमा उक्लनेछ । चौथोमा रहेको एट्लेटिकोले आइतबार भिलारियालबिरुद्ध खेल्न गइरहेको छ ।

गेटाफेसँग क्रिष्मस ब्रेकपछि स्तब्ध बनेको रियल म्याड्रिड अब भने दोश्रो स्थानको सेभियालाई कुनै मौका नदिने सुरमा रहँदा शनिबार भ्यालेन्सियाबिरुद्ध खेल्नेछ । एक खेल हातमै रहेको अवस्थानमा पाँच अंक पछाडी रहेको सेभियाले आइतबार गेटाफेसँग खेल्नेछ ।

सिजनको पहिलो हाफमा सरप्राइज प्याकेजको रुपमा रहेको तेश्रो स्थानको रियल बेटिस र छैटौं स्थानमा रहेको रायो भालेकानो आइतबार एक अर्का बिरुद्ध खेल्दैछन् । बेटिसले आफ्नो पछिल्लो दुई खेल हारेको छ भने भालेकानोले तीन मध्ये दुईमा पराजय व्यहोरेको छ ।

Click to comment

Trending