Headline

एल्गरले कप्तानी पारी खेल्दा भारत माथि दक्षिण अफ्रिकाको सहज जित 

Published

on

कप्तान डिन एल्गरले संयमित भएर ब्याटिङ गर्दा घरेलु टोली दक्षिण अफ्रिकाले भारत विरुद्धको दोश्रो टेस्टमा सात विकेटको सहज जित हात पारेको छ । 

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखला १-१ को बराबरीमा पुर्याउन सफल भएको छ । सेन्चुरियनमा भएको पहिलो टेस्टमा भारतले दक्षिण अफ्रिकालाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  

जितका लागि २४० रनको लक्ष्य लिएर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ६७ दशमलब चार ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पारेको हो । चौथो दिनको खेल दुई विकेटको नोक्सानीमा ११८ रन बाट सुरु गरेको दक्षिण अफ्रिकालाई जितका लागि दुई दिनमा १२२ रन आवश्यक रहेको थियो । तर दक्षिण अफ्रिकाले एक दिन अगावै जित निकाल्न सक्यो ।

दक्षिण अफ्रिकाको जितमा कप्तान एल्गरले अविजित रहँदै सर्वाधिक ९६ रन बनाए । १८८ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । एल्गर बाहेक दक्षिण अफ्रिकाको जितमा रस्सी भान डर ड़स्सेन ४० तथा टेम्बा बवुमाले अविजित २३ रनको योगदान दिए । 

भारतलाई उसको पहिलो पारीमा मात्र २०२ रनमा रोकेको दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा २२९ रन बनाउँदै २७ रनको अग्रता लिन सफल भएको थियो । त्यस्तै भारतलाई उसको दोश्रो पारीमा २६६ रनमा समेट्दै २४० रनको लक्ष्य पाएको थियो । भारतको लागि दोश्रो पारीमा अजिंक्य रहानेले सर्वाधिक ५८, चेतेश्वर पुजाराले ५३ तथा शार्दुल ठाकुरले २४ बलमा २८ रनको पारी खेल्दै आउट हुँदा हनुमा बिहारी ४०  रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिदी, मार्को यानसन र कागिसो रबाडाले समान ३-३ विकेट हात पार्दा दक्षिण अफ्रिकाले मध्यम लक्ष्य पाएको हो ।

दक्षिण अफ्रिकाको तर्फबाट पहिलो पारीमा किगन पिटरसनले सर्वाधिक ६२ र टेम्बा बवुमाले ५१ रन बनाउँदा कप्तान डिन एल्गर २८ तथा काइल वेरेन, मार्को यानसन र केशव महाराज समान २१-२१ रन बनाएर आउट भए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका शार्दुल ठाकुरले १७ दशमलब पाँच ओभर बलिङ गर्दै ६१ रन खर्चिएर सात विकेट हात पार्दा दक्षिण अफ्रिका ७९ दशमलब चार ओभरमा २२९ रन बनाउँदा अल आउट हुन पुग्यो र मात्र २७ रनको अग्रता लिन सक्यो ।

पहिलो पारीमा बिराट कोहलीको अनुपस्थितिमा भारतको कप्तानी सम्हालेका ओपनर केएल राहुलले सर्वाधिक ५० रन बनाए । भारतलाई पहिलो पारीमा सस्तैमा रोक्ने क्रममा मार्को यानसनले १७ ओभरमा ३१ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने कागिसो रबाडा र डुएन ओलिभरले समान ३-३ विकेट आफ्नो नाममा लेखाए ।

 

Click to comment

Trending